बर्दिबास, कात्तिक १५: शुक्रबार बसको ठक्करबाट धनुषाका पुर्वसांसद रामलखन महतोको मृत्यु भएको छ। जनकपुर–ढल्केवर सडकखण्डस्थित मिथिला नगरपालिका १ विश्वकर्मा चोकमा साइकलमा सवार उनलाई बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थियो। उनको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिरकुमार दाहालले जानकारी दिए।
शैक्षिक भ्रमणका लागि काठमाडौँबाट जनकपुरतर्फ आउँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले बाटो काट्ने क्रममा महतोलाई ठक्कर दिएको थियो।
ठक्कर दिएका बस र चालक काठमाडौं साँखुका दिपक गिरीलाई प्रहरी नियन्त्रणमा लिएको छ।