पूर्ण चन्द्र थापा कामु प्रधानसेनापतिमा सिफारिस, को हुन् थापा ?

| 2018 Jul 27 | 07:23 am 5323

काठमाडौं, साउन ११: नेपाली सेनाको नयाँ नेतृत्व बलाधिकृत रथी पूर्णचन्द्र थापाले गर्ने निश्चित भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेसँगै उनी प्रधानसेनापति बन्ने निश्चित भएको हो । थापाले २५ साउनदेखि कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी बहन गर्नेछन्।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी २४ भदौबाट सकिँदै छ। नेपाली सेनामा अवकाशपूर्व एक महिना बिदा बस्‍ने प्रचलन रहेकाले क्षत्री २४ साउनदेखि नै बिदामा बस्नेछन् । त्यसपछि थापाले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी बहन गर्नेछन् । २४ भदौपछि थापाले पूर्णरूपमा प्रधानसेनापतिको जिम्मेवारी बहन गर्नेछन् ।

कायम मुकायम प्रधानसेनापतिमा सिफारिस थापालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बलदेवराज महतसँगै एक वर्ष कार्यकाल थप गर्ने निर्णय गरेसँगै उनी नयाँ प्रधानसेनापति बन्ने निश्चित भएको थियो । दाहाल सरकारले एक वर्ष पदावधि नथपेको भए उनी गत असोजमा रथीबाटै अवकाश हुने थिए । थापासँगै पदावधि थपिएका महतले भने १६ कात्तिकमा ५८ वर्षे उमेर हदका कारण अवकाश पाइसकेका छन् । उनको अवकाशका कारण थापा सेनापतिको एक्लो दौडमा भएको खबर राजधानी दैनिकमा छ।

को हुन् थापा ?

लमजुङ पाखाथोकमा जन्मिएका थापा २०३७ सालमा सहायक सेनानीमा भर्ना भएका थिए। थापाको पल्टन गोरखबहादुर गण हो । नेपाली सेनामा आफूलाई अब्बल र क्षमतावान् साबित गरिसकेका थापालाई सेनाभित्र उच्च व्यावसायिक सैनिक अधिकारीका रूपमा समेत चिनिन्छ ।

थापाले सेनाका महत्वपूर्ण विभाग मानिने सबै ठाउँमा काम गरेर आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् । उनले जंगी अड्डामा जनरल स्टाफ अधिकृत र प्रमुख सैन्य सचिवालयमा सम्पर्क अधिकृतको जिम्मेवारीसमेत बहन गरेका थिए । यस्तै, नेपाली सेनाको महत्वपूर्ण नियुक्ति मानिने सैनिक सचिव र कल्याणकारी निर्देशकको जिम्मेवारीमा पनि उनी रहेका थिए । उनले उपरथी हुँदा कार्यरथी तथा सम्भाररथीको समेत अनुभव बटुलिसकेका छन्।

थापाले श्रीजंग गुल्मको गुल्मपति, श्रीजंग गणको गणपति, नं. २ बाहिनीको बाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रुपमा काम गरिसकेका छन्।

सेनामा मध्यम तहको कमाण्डरले गर्नुपर्ने स्टाफ कलेज उनले नेपालबाटै गरेका थिए । उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए । थापाले मद्रास विश्वविद्यालयबाट फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन्।

थापाले संयुक्त राष्ट्र संघमा पटक पटक गरी लामो समय सेवा गरी यथेष्ट अनुभव हासिल गरेका छन् । थापाले सन् १९८६ मा युनिफिल मिसन लेबनानमा नेपाली कन्टिन्जेन्टमा से.मु.पति, सन् १९८९ मा युनिफिल मिसन प्रधान कार्यालयमा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका थिए । उनले सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्निया, हर्जगोभिनिया र क्रोयसिया) मिसनमा सफल भूमिका निर्वाह गरेका थिए ।

थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व गरी युनाइटेड नेसुन्स मिसन इन नेपाल (जेएमसीसी) अन्तर्गत संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रुपमा पनि काम गरेका थिए ।

थापाले यसअघि प्यालेस्टाइन सीमा क्षेत्रस्थित राष्ट्रसंघीय मिसन, अनडफमा फोर्स कमान्डरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । दुईवर्षे शान्ति मिसनमा फोर्स कमान्डरका रूपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो ।

थापा सेनाको तर्फबाट विदेशमा फोर्स कमाण्डरजस्तो पद पाउने थोरै अधिकृतमध्ये पर्छन्। यसअघि फोर्स कमाण्डरका रुपमा सेनाबाट बालानन्द शर्मा, पवनजंग थापा, कृष्णनारायण सिंह थापा र भिक्ट्री राणाले काम गरिसकेका छन्।

थापा सुप्रबल जनसेवाश्री तेश्रो, गोरखा दक्षिणबाहु तेश्रो र त्रिशक्ति पट्ट चौथो जस्ता महत्वपूर्ण मानपदवीहरुबाट विभूषित भइसकेका छन् ।
कायममुकायम प्रधानसेनापतिमा सिफारिस थापाका बाबु फणेन्द्रबहादुर थापाले प्रमुख सेनानीबाट अवकाश पाएका थिए । उनका दाजु रोहित थापाले पनि सशस्त्र प्रहरीको एआईजीबाट अवकास पाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.