बलात्कार गरेको आरोपमा सडक निर्माण कम्पनीका साईट इञ्चार्ज पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 21 | 04:36 pm 1800

पर्वत, असार ७ः एक युवतीलाई बलात्कार गरेको आरोपमा सडक निर्माण कम्पनीका साईट इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं ४ का ३२ बर्षिय रविन जिसी रहेका छन् ।

आरोपित जिसीले गत १६ जेठमा जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गमा आफुलाई बलात्कार गरेको भन्दै पिडित युवतीले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

उनीले आफुलाई बलात्कार गरेर सामाजिक रुपमा असह्य हुने गरी हिंसात्मक तबरबाट प्रचारबाजी गरेको आरोप लगाएकी छन् । जिसी पर्वतको जलजला गाउँपालिकामा निर्माणाधिन मिलनचोक धाइरिङ ठोट्नेरी सडकमा कार्यरत साइड इञ्चार्ज हुन् ।

उनलाई प्रहरीले उजुरी परेकै दिन शुक्रबार सोही स्थानबाट नियन्त्रणमा लिएको थियो भने बेनी अस्पताल म्याग्दीमा स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ ।

आइतबार दिउँसो आरोपित जिसीलाई सरकारी वकिल कार्यालय पर्वत मार्फत जिल्ला अदालतमा म्याद थप्ने तयारी गरिएको इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.