काठमाडौं, भदौ १७ : प्रधानमन्त्री केपी ओलीले बलात्कार र महिला हिंसाका घटनालाई सरकारको कमजोरीको रुपमा लिन नहुने बताएका छन्। आइतबार सिंहदरबारमा आयोजित संविधान दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बालिका बलात्कार, महिला हिंसालगायतका घटनालाई सरकारको कमजोरीको रुपमा मात्रै लिन नहुने पनि स्पष्ट पारेका हुन्।
उनले बलात्कारलगायतका घटना हुन नदिन सबैलाई गम्भीर बन्न आह्वान पनि गरेका छन्। उनले दिनदिनै बालिका बलात्कारलगायतका घटनाबाट नेपाली समाज अधोगतितर्फ उन्मुख भएको संकेत देखिएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न सिंगो समाजलाई गम्भीर बन्न पनि आग्रह गरेका थिए।
ओलीले आत्म अनुशासनको माध्यामबाट मुलुकमा हिंसा, हत्या, बलात्कारलगायतको घटना हुन नदिन सबै पक्षलाई संयमित हुन पनि आग्रह गरेका थिए।