बुटवल, जेठ १०ः बरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ हरी बहादुर थापाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित थापाको उपचारका क्रममा लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा निधन भएको हो ।
गुल्मी जिल्ला साविक पौदी अमराई गाविस हाल मुसिकाेट नगरपालिका वडा नं १ मा जन्मनु भएका थापा पंचायती व्यवस्थामा गाउँ पंचायतको सचिव र पछि पौदी गाउँ पंचायतको प्रधानपंच हुनुभएको थियो ।
थापाकाे निधन प्रति मुसिकाेट नगरपालिका वडा नं. १ ले आज शाेक बिदा दिने निर्णय गरेकाे बताइएकाे छ ।
२०४६ को परिवर्तन पछि नेपाली कांग्रेसमा आबद्ध थापा चन्द्र केसी सभापति रहँदा इलाका सदस्यमा निर्वाचित हुनुभएको थियो ।
समाजसेवा र विकास निर्माणका कार्यमा रमाउने थापाले घर परिवारलाई भन्दा समाजलाई बढी समय खर्चिने जानकारहरु बताउँछन् ।
नेपाल राष्ट्रिय सर्वोदय उच्च माध्यमिक विद्यालयको पटक पटक अध्यक्ष बन्नुभएका थापाको पौदी अमराईमा शिक्षाको विकासका लागि अहम भूमिका रहेको छ ।
छत्रभूमि प्रतिष्ठानको स्थापना कालदेखि हालसम्म अध्यक्ष रहनुभएका ७८ वर्षिय हरी बहादुर थापा प्रति रिपोर्ट नेपाल डटकम परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
स्वर्गीय थापाका छोरा इटलीमा रहेकाले संभवत भोलि अन्तिम संस्कार पवित्र तिर्थस्थल रूरूको कालिगण्डकीमा हुनेछ।