काठमाडौं, भदौ १३: तीजको गीतको नाममा अनेक भाकाका गीतको बाढी आइरहेका बेला बरिष्ठ लोक गाएक बमबहादुर कार्की र शिवा आलेले लाली पाउडर नामक तीजको गीत सार्वजनिक गरेका छन् ।
हिन्दु नारीको महान चाड तीजमा चेलीहरुले आफूलाई परेको पीरमार्का गीत मार्फत व्यक्त गर्ने यो चाडमा पछिल्लो समय गीत सार्वजनिक गर्ने होडबाजीमा तीजको लयलाई बिगारेर अनेक लयमा गीत बजारमा छ्यापछ्याप्ती आएका छन् ।
दर्जनौ कलाकारले ल्याएका तीज गीत भनिने भाकाहरु लोक हुन कि रत्तेउली भन्ने चर्चा चलिरहेका बेला कार्की दम्पतीले लाली पाउडर गीत सार्वजनिक गरेर तीज गीतको लयलाई जिवीत राख्ने प्रयत्न गरेका छन् ।
२०४४ साल अघि तीज गीत बसेर गाइए पनि क्यासेटका रुपमा आएका थिएनन् । नेपालमा कार्कीले २०४४ सालमा पहिलो पटक दिदीबहिनी नामको गीती एल्बम बजारमा ल्याएका थिए ।
रमाइलोको लागि र व्यवसायका लागि ल्याइएका कतिपय गीतले संस्कृतिमाथि ठाडो प्रहार गरिरहेको बेला कार्कीले ठेट तीज गीत लाली पाउडर ल्याएर प्रशंसनीय काम गरेका छन् ।