बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ

| 2023 Jul 14 | 10:09 am 1553

काठमाडौं, असार २९। थाइल्याण्ड लैजाने भन्दै झुक्याई जबरजस्ती म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका छन। चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीमा अस्थायी रुपमा बस्ने ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जु लाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मार लगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । लियाङले पीडितलाई थाईल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्‍याई बन्धक बनाई अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाई श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको खुल्न आएको प्रहरीको दाबि छ।पीडितले नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकोमा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको खुल्न आएको पनि प्रहरीले जनाएको छ।

लियाङ लगायतका गिरोहले नेपालबाट रोजगारीमा थाईल्याण्ड लैजाने भनि नेपाली नागरिकहरुलाई म्यान्मार पठाउने र म्यान्मार पुगेपछि राहदानी र मोबाईल जफत गरि, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाउने गरेको पनि प्रहरीले जनाएको छ।अनलाइन स्क्यामिङमार्फत अमेरिकी नागरिकहरुलाई फेक आइडीमार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिट कोइन लगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको र काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.