बन्चरेडाँडाबासीको बिलौना

| 2022 Jun 13 | 07:59 am 1749

काठमाडाैं, जेठ ३०ः घरको फोहोर सडकमा फाल्नु कस्तो सभ्यता हो भन्ने कुरा बहसकै विषय बन्नसक्छ। यद्यपि घरको फोहोर सडकमा फाल्नु समाधान नै चाहिँ हुँदै होइन। सडक आखिर घरसँगै जोडिएको हुन्छ। सडकबाटै हामी आफ्नो घर पुग्छौँ। सडक फोहोर भयो भने घर मात्रै सफा रहिरहन सक्दैन। हामीले घरबाट उठाएर सडकमा फालेको फोहोर कुनै न कुनै माध्यमबाट फेरि हाम्रो घरसम्म आइहाल्छ।

चाहे हाम्रै पैतालामा टाँस्सिएर होस् अथवा हावाले उडाएर होस्। केही नभए पनि त्यसको गन्ध मात्रै भए पनि हावामार्फत हाम्रो घरसम्म आइपुगिहाल्छ। गन्ध मात्रै होइन, कुहिएको फोहोरबाट रोगका किटाणु पनि आइपुग्छन्। सडक फोहोर भएर सहर नै फोहोर हुनु र सहर फोहोर भएको बेला हैजा अथवा झाडापखाला फैलिनु हामीले जथाभावी सडकमा फोहोर फाल्नुको परिणाम हो। सडकमा फालिएको फोहोरबाट अरूसँगै हामी आफैँ पनि प्रभावित नभइ रहन सक्दैनौँ। रोगले मान्छे चिन्दैन। रोगले धनी र गरिब पनि भन्दैन। अनि रोगले मान्छेले जस्तो पक्षपात गर्न पनि जान्दैन।

घरबाट उत्सर्जित फोहोर गाड्नलाई खाल्डो खन्ने एक टुक्रा खाली जग्गा पनि नछोडी सिनित्तै ढलान गरेर घरलाई सफा राख्न खोज्छौँ हामी। अनि फोहोर फाल्नका लागि चाहिँ जबरजस्ती सडक प्रयोग गर्छौ र सडकलाई नै डम्पिङ साइट बनाउँछौँ। गल्ने र खाल्डोमा गाड्न मिल्ने फोहोरलाई पनि आफ्नै बारीमा विसर्जन नगरी सडकमा फालेर हामी असभ्यताको परिचय दिन्छौँ र उल्टै सरकारलाई दोष लगाउँछौँ सडक फोहोर भयो भनेर अनि फोहोर उठाएन भनेर।

फोहोर नउठ्नुको सम्पूर्ण दोष सरकारलाई दिएर हामीचाहिँ कति चोखो बच्यौँ र? फोहोर फाल्ने त हामी नै हौँ नि। के आफ्नो घर–कम्पाउन्ड सफा राख्न घरको फोहोर सडकमा फाल्न मिल्छ? सडकमा फोहोर फालेर आफैँ नाक थुनेर हिँड्छौँ सडकमा। आफैँबाट उत्सर्जित जैविक अथवा अजैविक फोहोरसँग आफैँ नाक थुनेर हिँड्न तयार छौँ हामी, तर त्यसलाई व्यवस्थित विसर्जन गर्नमा आफ्नो भूमिका र आफ्नो दायित्वप्रति हामी बेखबर छौँ र निरपेक्ष छौँ। सहर फोहोर हुनुको अर्थ हाम्रो चेत फोहोर छ भन्ने पनि त हो नि।

घरको फोहोर सडकमा फाल्नु र सडकबाट उठाएर बन्चरेडाँडा वा सिसडोलमा फाल्नु दिगो समाधान होइन। दिगो समाधानको विकल्प खोज्न विलम्ब भइसक्यो र अझै विलम्ब गर्नु हुँदैन। फोहोर विसर्जनको वैकल्पिक उपायको खोजी पनि तत्काल आवश्यक भइसकेको छ। सधैँ यसैगरी कुनै ठाउँमा फोहोर फालेर मात्रै दिगो समाधान हुँदैन र यस्तो समस्या निरन्तर दोहोरिइरहन्छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.