‘बदमासी भो’: उल्टियो ९ हजार विद्यार्थीको नतिजा

| 2018 Jun 27 | 06:45 am 3892

काठमाडौं- एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ ।

३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा नियन्त्रण कार्यालयले दाबी गरेको छ । पहिलो दिन नतिजा प्रकाशन गर्दा ३.६५ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १४ हजार ७ सय ७२ थियो । कार्यालयका अनुसार त्रुटि सच्याएपछि उक्त संख्या बढेर १८ हजार ४ सय ३५ पुगेको छ ।

त्यस्तै ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ९ सय ४१ छ । यसअघि ४७ हजार ८ सय ९६ जनाले मात्रै उक्त जीपीए प्राप्त गरेको तथ्यांक सार्वजनिक भएको थियो । २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या भने ५१ हजार ७ सय ९ बाट घटेर ५१ हजार १ सय ५ भएको कार्यालयका प्रवक्ता डिल्ली लुइँटेलले जानकारी दिए ।

कार्यालयले ग्रेडिङ (अक्षरांक) पद्धतिबाट ९ वटा श्रेणीमा नतिजा प्रकाशित गरेको थियो । तीमध्ये माथि उल्लेखित तीनवटा श्रेणीमा बढी गडबडी भएको लुइँटेलले स्विकारे । ‘परीक्षार्थीले प्राप्त गरेको नम्बरलाई ग्रेडमा रूपान्तरण गर्ने बेला त्रुटि हुन पुगेको देखिन्छ, अन्य श्रेणीमा पनि नम्बर बढेको छ । सिस्टमले माथिल्लो जीपीए देखाउनुपर्ने बेला तल्लो देखायो,’ उनले भने, ‘गल्ती लुकाएर सिधै विद्यार्थीलाई बढेको ग्रेडसिट दिन पनि सकिन्थ्यो तर गल्ती लुकाएनौं ।’

विद्यार्थीले विभिन्न विषयमा प्राप्त गरेको ९०, ७०, ५० र ३० प्राप्तांकलाई ग्रेडमा बदल्दा त्रुटि हुन पुगेको पारम्भिक अनुमान गरिएको छ । अझै रुजु गर्ने काम जारी छ । नियमिततर्फ साधारण र प्राविधिक धारका ४ लाख ६० हजार विद्यार्थीमध्ये ९ हजार ६४ को नतिजा बढेको हो । यीबाहेक विगत वर्षमा जस्तै सामान्य प्रकारका त्रुटि पनि छन् ।

शनिबार साँझ सार्वजनिक नतिजामा ४ जीपीए ल्याउने विद्यार्थी संख्या २४ थियो । त्यसको २४ घण्टापछि आइतबार साँझ कार्यालयले ग्रेडसिटमा त्रुटि भएको भन्दै गल्ती स्वीकार गरेर वेबसाइटमा अर्को नतिजा राखेको थियो ।

अहिले ४ जीपीए ल्याउनेको संख्या बढेर ७४ जना पुगेको छ । अन्य जीपीएमा पनि घटबढ भएको छ । शिक्षाविद् विद्यानाथ कोइरालाले परीक्षा नियन्त्रण कार्यालयको बदमासीले त्रुटि भएको बताए । ‘१/२ जना विद्यार्थीको नतिजामा त्रुटि हुनु सामान्य हो,’ उनले भने, ‘हजारौं हजार विद्यार्थीको नतिजा फरक पर्नु बदमासी हो ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरू बदमासीको ढाकछोप गर्न लागिपरेको समेत उनले बताए । ‘प्रविधि भनेको निर्जीव वस्तु हो, निर्जीव चिजलाई दोष दिएर बदमासी गर्नेलाई उन्मुक्ति दिन खोजिएको छ,’ कोइरालाले भने, ‘रिजल्ट इन्ट्री गर्नेले त्रुटि गरेको प्रस्ट छ ।’

शिक्षक, अभिभावक र शैक्षिक क्षेत्रमा त्रुटिले ठूलो असर पुगेको उनको ठम्याइ छ । दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिँदै कोइरालाले भने, ‘परीक्षा नियन्त्रण कार्यालयले सच्याएको नतिजाको अझै विश्वास गर्ने आधार छैन ।’

परीक्षा नियन्त्रण कार्यालयले शनिबार तोकेको समयभन्दा ५ घण्टा ढिलो रिजल्ट सार्वजनिक गरेको थियो । प्राविधिक कठिनाइले ढिला भएपछि बोर्डका कतिपय सदस्यले आइतबार मात्रै नतिजा प्रकाशन गर्न सुझाव दिएको स्रोतले जनाएको छ । तर परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी दबाबमा थिए । उनले बोर्डका सदस्यसँग जनशक्ति अभावमा नतिजा प्रकाशन गर्न गत वर्षभन्दा ढिला भएको गुनासो गर्ने गरेका खबर कान्तिपुर दैनिकमा छ ।

दक्ष जनशक्तिको कमीका बेला पनि समयमै नतिजा प्रकाशन गर्नु उनका सामु चुनौती थियो । ‘पहिलादेखि नै परीक्षा नियन्त्रक दबाबमा हुनुहुन्थ्यो,’ बोर्डका एक सदस्यले कान्तिपुरसँग भने, ‘हतार र प्रविधिको प्रयोग सही तरिकाले गर्न नसक्दा त्रुटि देखियो ।’

रिजल्टमा भएको गल्ती आइतबारै सच्याएर सोमबार मात्र बोर्ड बैठक डाकिएको थियो । बोर्डका कतिपय सदस्यले प्राविधिक कठिनाइ हुँदाहुँदै हतारमा रिजल्ट सार्वजनिक गर्दा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रक रेग्मीसामु असन्तुष्टि जनाएका थिए । अन्तिम समयसम्म त्रुटि सच्याउने निर्णयमा हस्ताक्षर गर्नसमेत उनीहरूले मानेका थिएनन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले गल्तीको जिम्मेवारी लिने बताए । उनले भने, ‘गल्ती लुकाउन सक्ने अवस्था पनि थियो, गल्ती लुकाउँदा झनै विकराल समस्या आउँथ्यो ।’ मन्त्रालयलाई छानबिन गर्न बोर्डले नै बाटो खोलिदिएको उनको तर्क छ । ‘हामी आफैं छानबिन गरेर ढाकछोप गर्न सक्थ्यौं,’ उनले भने, ‘मन्त्रालयलाई आग्रह गरेर छानबिन समिति बनेको छ, सत्यतथ्य बाहिर ल्याउन सहयोग गर्छौं ।’

त्यस्तै मन्त्रालयले गठन गरेको छानबिन समितिले काम थालेको छ । छानबिन टोलीले मंगलबार परीक्षा नियन्त्रण कार्यालय पुगेर नतिजा प्रकाशनमा संलग्न कर्मचारीसँग सोधपुछ गरेको थियो । ‘५ दिनभित्रै प्रतिवेदन दिने गरी काम थालेका छौं,’ समिति संयोजक डा. तुलसीप्रसाद थपलियाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.