बझाङ, साउन ५: जिल्लाको खप्तड छान्ना गाउँपालिका-६ बयानामा चौतारीमा शनिबार दिउँसो एक्कासी आएको पहिरोमा पुरिएर एकै घरका तीनसहित चारजनाको ज्यान गएको छ।
पहिरोमा परी खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ बयानाका ५२ वर्षीया उजलीदेवि थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा र महेश्वरीकी ६ वर्षिय छोरा कृष्ण थापाको घटनास्थल मै ज्यान गएको छ। पहिरोमा परेर सोही गाउँका २० बर्षिया मंगल थापाले पनि ज्यान गुमाएका छन्।
पहिरोमा परेर पाँच वर्षका दुई बालक कविराज थापा र रिकेश थापा घाइते भएको घटनास्थलमा रहेका वडासदस्य प्रेमबहादुर थापाले जानकारी दिएका छन्। बयानागाउँ नजीकैको शिव मन्दिर गलेगडा भन्ने ठाउँमा रहेको चौतारामा बसीरहेका र नजिकैको बाटोमा हिँड्दै गरेकाहरुलाई एक्कासी आएको पहिरोले बगाएर पुरेको थियो।
घरबाट घाँस पारीछाना भन्ने ठाउँमा जाँदै गर्दा उजेली थापाका सासुबुहारी र नाती पहिरोमा परेका थिए। उनकी बुहारी महेश्री थापा वडा नम्बर ६ की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन्।
घाइते बालकहरुको अहिले पाटादेवल स्वास्थ्य चौकीमा उपचार भैरहेको र उनिहरु खतरा मुक्त रहेको स्थानियले बताएका छन्। घटना लगतै खप्तड छान्ना प्रहरी चौकीबाट प्रहरी नायव निरिक्षक र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरिक्षकको कमाण्डमा उद्धार टोली घटनास्थल तर्फ गएको थियो।