बजेट सक्ने धुनमा हिलो र झरिमै धमाधम कालोपत्रे

रिपोर्ट नेपाल | 2021 Jun 24 | 08:21 am 2493

माेरङ, असार १०ः प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु गर्‍यो। बजेट सक्ने धुनमा सडक भित्रै बिजुलीका पोल भए पनि त्यसलाई व्यवस्थित गर्न महानगरले भ्याएन। असार १५ मा काम नसके बजेट फ्रिज हुने भएकाले हिलो र झरिमै भए पनि कालोपत्रे गर्ने तयारीमा महानगर लागेको छ।

महानगरको २ नम्बर वडाको स्वस्तिक मार्गमा मात्रै यो वर्ष कालोपत्रेमा १० लाख रुपैयाँ महानगरले सक्दैछ। अघिल्लो वर्ष यस स्थानमा नाला निर्माणका लागि २९ लाख १२ हजार ६ सय २६ रुपैयाँ सकिएको थियो। अब अर्को वर्ष बिजुलीको पोल सार्दा यो सडक र नाला भत्केर पुनः बनाउनुपर्ने अवस्था आउनेछ। कुनै दीर्घकालीन योजना बिना असारमा यसरी बजेट सक्नेतर्फ मात्रै ध्यान दिँदा करोडौं रकम खेर जाँदै छ।

यो त एक उदाहरण मात्रै हो। प्रदेश १ का प्राय सबै तहका वडामा अहिले बजेट सक्न हिलो र झरिमानै धमाधम काम भइरहेका छन्। जुन दिगो हुने कुनै लक्षण देखिँदैन। विराटनगर महानगरपालिकासँगै जोडिएका बूढीगंगा गाउँपालिका–२ मा अहिले नाली निर्माण र सडक ग्राभेलको काम चलिरहेको छ। अबको १० दिनमा सबै काम सक्ने चटारो वडाध्यक्ष रेवतीनारायण चौधरीलाई छ। उनी भन्छन्, ‘बजेट किन फ्रिज गर्ने, काम गर्दा राम्रै होला नि।’

आर्थिक वर्षको अन्त्यसँगै सडक, ढल, नाला र पुलको काममा बढी रकम खर्च भइरहेका छन्। पहाडी जिल्लामा सडक र तराईका जिल्लामा तीब्र गतीमा भइरहेका नालीका काम वर्षात्का बाबजुत पनि रोकिएको छैन। प्रदेश १ मा जेठ महिनाभित्रमा भौतिक पूर्वाधारको काम सकिसक्नु पर्ने र असार १५ भित्रमा हरहिसाब मिलान गरिसक्नु पर्ने भए पनि बजेटको अधिकांश हिस्सा असारमा नै खर्च हुने गरेको छ।

मुख्यमन्त्री शेरधन राईले असारे विकास हुन नदिने पटक–पटक प्रतिबद्धता जनाए पनि यसले सार्थकता भने पाउन सकेको छैन। कोरोना महामारीमा संक्रमित घटेर निषेधाज्ञा खुकुलो बनेसँगै प्रत्येक जिल्लामा स्काभेटर र डोजर चलेको मात्रै आवाज आउन थालेको स्थानीय बताउँछन्। ‘पोहोर पनि हिलोमा माटो र गिटी हालेर पुरे, सबै पानीले बगायो,’ विराटनगर–२ मुनालपथका स्थानीय दुर्गा न्यौपाने भन्छन्, ‘यो वर्ष पनि कालोपत्रे गर्नलाई हिलोमा पेल्दैछन्, छाता ओडेर ठेकेदार कुद्छन्, पानीमा डोजर चलाएका छन्।’

असारमा भौतिक पूर्वाधारको काम हुँदा पानीका कारण कम गुणस्तरको काम हुने र अनुगमनमा समेत समस्या पर्ने अर्थ विज्ञ बताउँछन्। ‘यो समय काम गर्ने समय होइन, अनुगमन र फरफारक गर्ने समयमा काम हुँदा, भ्रष्टाचार मौलाउँछ, काम गुणस्तरको हुँदैन,’ प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दामोदर खत्री भन्छन्, ‘यसै कारणले समस्या हुने गरेको छ।’ यो समयमा अनुगमन तथा नियन्त्रणका लागि समय नहुँदा ठेकेदारले पानीको कारण देखाउँदै भ्रष्टचारसमेत गर्दै आएको खत्री दाबी गर्छन्। ‘वर्षातमा जति काम भए पनि पानीले बगायो भन्न पाइन्छ,’ खत्रीले भने, ‘यही बहानामा कमसल काम गरेर बजेट पचाउने काम भइरहेको छ।’

प्रदेश १ मा चालू आर्थिक वर्षको विकास खर्च निराशाजनक छ। चालू वर्षको जेठ महिनासम्ममा ४६.४७२ प्रतिशत मात्र खर्च भएको प्रदेश १ लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ। चालू वर्षमा कुल बजेटको सिलिङमा ४ करोड वित्तीय व्यवस्थाको थप रकमसहित प्रदेश सरकारले ४१ अर्ब ८६ करोड ३४ लाख ९ हजारको बजेट प्रदेश १ मा खर्च गर्नुपर्ने थियो। जसमा जेठ मसान्तसम्ममा १९ अर्ब ४५ करोड ३८ लाख ५५ हजार ८७९ रुपैयाँ खर्च भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.