बजेट निर्माणमा पूर्वनासु सहभागी भएको भन्दै प्रश्न

रिपोर्ट नेपाल | 2023 Jun 06 | 07:39 am 961

काठमाडौँ, जेठ २३  यस पटकको बजेट निर्माणमा पनि पूर्वनायब सुब्बा (नासु) लाई संलग्न गराइएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न उठेको छ । सरकारले भने पूर्वनासु रामकृष्ण श्रेष्ठ भन्सार विभागमा करारमा कार्यरत रहेको भन्दै आफ्नो प्रतिरक्षा गरेको छ । पूर्वकर्मचारीलाई अनुभवका आधारमा करारमा राखेर नियमित सहयोग लिने अभ्यास रहेको अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

आगामी वर्षका लागि प्रस्तुत बजेटका करका दर हेरफेरमा पूर्वनासु श्रेष्ठको संलग्नता रहेको समाचार अनलाइन खबर डटकमले प्रकाशित गरेको छ । समाचारमा भनिएको छ, ‘बजेट पेस हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा करका दर हेरफेरमा एक अवकाशप्राप्त नायब सुब्बा (नासु) को अनधिकृत संलग्नता रहेको पाइएको हो । उनकै सहभागितामा बिजुली गाडी, विलासी मोटरसाइकल र चुरोटमा केही निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी करका दर हेरफेर भए, जसले राज्यलाई अर्बौं रुपैयाँ नोक्सान भएको छ ।’

अर्थमन्त्री, सचिवले भने बजेट निर्माणमा श्रेष्ठको संलग्नता अनधिकृत नभई आधिकारिक रहेको दाबी गरेका छन् । बजेटको निर्णयमा होइन, बजेट टाइप गर्ने काममा श्रेष्ठको सहभागिता रहेको मन्त्रालयको दाबी छ ।

‘बजेटको निर्णय प्रक्रियामा उपसचिवभन्दा तलका कर्मचारीको सहभागिता रहँदैन । मन्त्री, दुई सचिव, आन्तरिक राजस्व विभागका विभाग प्रमुख, भन्सार विभागका प्रमुख, दुई उपसचिव बसेर निर्णय गरिएको हो । हस्ताक्षर गरिएको छ । जे जे निर्णय गर्ने हो हामीले नै गरेका हौं,’ मन्त्री महतले भने, ‘तर, यो निर्णय कसै न कसैले टाइप त गर्न पर्‍यो नि । त्यो टाइप गर्ने काम रामकृष्ण श्रेष्ठले गरेका हुन् । उनी करारमा रहेका सरकारी कर्मचारी हुन् । हार्मोनाइज्ड सिस्टम (एचएस कोड) दर्ता गर्न उनको अनुभव छ । पोहोर, परार र त्यो भन्दा पहिलेदेखि नै त्यो काम उनैले गर्ने हो ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि श्रेष्ठलाई टाइपिस्टका रूपमा काममा लगाउँदै आएको बताएको छ ।

आर्थिक विधेयक टाइप गर्ने प्रक्रियामा संलग्न रहेको श्रेष्ठले पनि स्वीकारे । ‘सचिव, महानिर्देशक, उपसचिव सबैले जे जे भन्नुभयो, मैले त्यही टाइप गरेको हुँ । २०४९ सालदेखि हालसम्म निरन्तर आर्थिक विधेयक टाइप गरेको हुँ । कुनै वर्षको आर्थिक विधेयक टाइप गर्न म छुटेको छैन । कुनै कुनै वर्ष दुई–तीनवटा आर्थिक विधेयक आए, ती सबै मैले नै टाइप गरेको हो,’ उनले कान्तिपुरसित भने, ‘म छलफलमा, निर्णय प्रक्रियामा बस्दिनँ । उहाँहरूले भनेको कुरा मात्रै गर्ने हो । म सचिवज्यूको कोठानजिक बसेर कम्प्युटरमा काम गर्ने गरेको छु । म पहिले टाइपिस्ट थिएँ । सुब्बा भएर अवकाश पाएको हुँ ।’

गत वैशाखमा अवकाश पाएका श्रेष्ठलाई विभागले सूचना प्रविधि सहायक पदमा करारमा राखेको हो । ‘करारमा धेरै कर्मचारी छन् । अवकाशपछि विभागमा म चाहियो भन्नुभयो । विभागको सबै शाखामा कम्प्युटरसम्बन्धी काम मैले गरिरहेको छु । म विश्वासमा काम गर्ने मान्छे हुँ,’ उनले भने, ‘तपाईंलाई थाहा छैन, म रातभर काम गर्छु । बजेट टाइप गर्ने काम गोप्य पनि हुन्छ । त्यो विश्वास मैले गुमाउन दिएको छैन । मैले विभागमा स्मारिकाहरू पनि सेटिङ गर्ने काम गर्छु । किताब निकाल्ने, महसुल वर्गीकरण, अंग्रेजी दरबन्दी, नेपाली दरबन्दीको सबै किताब मैले निकाल्ने गरेको छु । तर उहाँहरूले जे जे काम गर्नु भन्नुहुन्छ, त्यही मात्रै गर्ने हो ।’ (कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.