दाङ, माघ २६: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव घर निर्माण हुन नसक्दा शव राख्न ल्याइएको फ्रिज त्यसै थन्किएको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल हुँदा शव घरका लागि भनेर ल्याइएको फ्रिज बजेट अभावले शव घर बन्न नसकेपछि शव राख्ने फ्रिज प्रयोगमा नआइ त्यसै थन्किएको हो ।
बजेट अभावमा प्रतिष्ठानकै सञ्चालन खर्च धान्न गार्हो भएकाले शव घर बनाउन नसकिएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले बताए । उनले बजेटको ब्यवस्था गरी दिएमा नयाँ शव घर बनाएर त्यसै थन्किएको फ्रिज व्यवस्थित गरिने बताए। शव घरमा फ्रिज नहुँदा बेवारीसे शव राख्न असहज भएको घोराही प्रहरीको भनाई छ ।
फ्रिज सहितको शव घर निर्माण भएमा ५ देखि ७ जनाको शव राख्न सकिने र गर्मियाममा शव कुहिने समस्या हट्ने प्रहरीले जानकारी दिएको छ । शव घर बनाएर फ्रिज राख्न सकेमा ५, ६ दिनसम्म शव नकुहिने र जस्ताको तस्तै अवस्थामा राख्न सकिने छ ।
अस्पतालकी इन्चार्ज रमिता गौतमले पहिले बनेको शव घर जिर्ण अवस्थामा रहेकाले प्रहरी र अस्पतालका कर्मचारी बसेर बेवारीसे शव कुर्नुपर्ने बाध्यता रहँदै आएको बताइन् ।