बजेटको छलफल कार्यतालिका तयार

रिपोर्ट नेपाल | 2019 Apr 27 | 08:37 am 1717

काठमाडौं, वैशाख १४ : संसद् सचिवालयले नीति तथा कार्यक्रम र प्रि–बजेटसम्बन्धी छलफलको कार्यतालिका बनाएको छ। सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते प्रस्तुत हुने पत्र प्राप्त भएपछि सचिवालयले छलफलको कार्यतालिका बनाएको हो। राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्।

संसद्ले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित गरेपछि नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गरिने भएको छ। संसद् सचिवालयले नीति तथा कार्यक्रमका लागि वैशाख २२, २३ र २४ गतेलाई तोकेको छ। छलफलमा उठेका विषयमा प्रधानमन्त्री वा उनले तोकेका मन्त्रीले जबाफ दिएपछि छलफल सकिनेछ। नीति तथा कार्यक्रम पारित भएपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) का सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरिने भएको छ। संसद् सचिवालयले प्रि–बजेट छलफलका लागि वैशाख २७, २९ र ३० गतेको समय निर्धारण गरेको छ।

राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गर्नुभन्दा १५ दिनअघि नै प्रि–बजेटमाथिको छलफल समाप्त गर्नुपर्ने प्रतिनिधिसभा नियमावली २०७५ को नियम १४२ (४) मा उल्लेख छ। सरकारले जेठ १५ गते बजेट प्रस्तुत गरेपछि विनियोजन विधेयक प्रस्तुत गरिन्छ। विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल करिब एक महिनासम्म हुनेछ। असारको अन्तिम साताभित्र बजेट पारित गरेपछि बर्खे अधिवेशनको मुख्य काम समाप्त हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.