नैरोबी, असार १५: केन्याको राजधानी नैरोबीस्थित एक बजारमा भएको आगलागीमा कम्तीमा १५ जनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये ४ बालबालिका छन् ।
अधिकारीहरुले आगलागीमा परी कम्तीमा ७० जना घाइते भएको जनाएका छन् । अधिकारीहरुले उनीहरुको आगोले डढेर तथा विषालु बाफका कारण मृत्यु भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार राति भएको आगलागीका कारण कैयौं भवन ध्वस्त भएका छन् । स्थानीय द स्टयान्डर्ड अखबारका अनुसार नैरोबीको ठूलो बजार गिकोम्बामा राति आगलागी भएको हो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
सेन्ट जोन एम्बुलेन्स सेवालाई उद्धृत गर्दै बीबीसीले स्थानीय समयअनुसार बुधबार राति २ बजेर ३० मिनेट जाँदा आगलागी फैलिएको उल्लेख गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बजारबाट सुरु भएको आगलागी केही क्षणमै नजिकैका अवासीय घरहरुमा फैलिएको थियो ।
आगलागी नियन्त्रणमा लिन स्थानीय प्रहरी तथा उद्धारकर्मीलाई करिब ९० मिनेट लागेको बीबीसीले उल्लेख गरेको छ । समाचार संस्था रोयटर्सले आगलागीपछि उद्धारकर्मीहरुले खरानीका थुप्रो तथा भग्नावशेषहरुमा मृतकहरुको खोजी गरिरहेको उल्लेख गरेको छ । उसका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।