बंगलादेशमा निधन भएका राष्ट्रिय च्याम्पियन महर्जनलाई दिइयो श्रद्धाञ्जली

रिपोर्ट नेपाल | 2018 Jun 21 | 06:42 pm 3724

काठमाडौं, असार ७ : गते साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व: नारायणगोपाल महर्जनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा राखिएकाे छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, एनओसीका महासचिव लामा टेन्डी शेर्पा, नेपाल साइक्लिङ संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्त, कर्मचारी लगायतले नारायणको पार्थिव शरीरमा फुल माला र पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

डल्लुमा डेरामा बस्दै आएका ३३ वर्षिय अबिवाहित स्व: नारायणको श्रीलंकाको कोदामामा रम्बल इन जंगल– २०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दर्घटनामा परी गत जेठ ३० गते निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई श्रीलंकाबाट ड्रागन एयरमा असार ६ गते नेपाल ल्याइएको थियो । स्व: नारायणसहित उक्त प्रतियोगितामा सहभागी हुन अजय पण्डित क्षेत्री र बुद्धिबहादुर तामाङ पनि श्रीलंका गएका थिए । अजय र बुद्धि पनि स्वदेश फर्किसकेका छन् । उक्त घटनापछि आयोजकले प्रतियोगिता स्थगित गरेको नेपाल साइक्लिङ संघले जनाएको छ ।

इन्डोनेसियामा भदौमा हुने एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका स्व। नारायणले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको साइक्लिङ संघले जनाएको छ । स्व। नारायण २०६२ सालदेखि साइक्लिङको क्रस कन्ट्री विधामा संलग्न भएका थिए ।

राखेपका सदस्य-सचिव विष्टले खेलकुदले राम्रो सम्भावना बोकेको खेलाडी गुमाउदा आफूलगायत सिंगो खेल क्षेत्र निकै मर्माहत भएको बताए ।नारायणको पार्थिव शरीरलाई बिहीबारै पशुपति आर्याघाटमा अन्त्येश्ती गरिएको छ । स्व: नारायणका बुवा, आमा र दुई दिदी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.