काठमाडौं, साउन ६ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्ति गलत भएको स्वीकार्दै माफी माग्ने बताएका छन्।
चावहिलको चुच्चेपर्टीमा प्राक्टिस इन्टरनेशनल एकेडेमीमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफूले दिएको अभिव्यक्ति गलत भएको स्वीकार्दै प्रेस विज्ञाप्ती निकाले माफी मागेका हुन् ।
मन्त्री तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु।’ उक्त कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेका बताएका थिए। उनले डाक्टर पढ्न बंगलादेश जाने छोरी-चेलीबारे दिएको भाषणको भिडियो सार्वजनिक भएपछि मन्त्री तामाङ विवादमा तानिएका थिए ।
बंगलादेशमा हाल दुई हजार भन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको उल्लेख गर्दै मन्त्री तामाङले उनीहरुले भोग्नुपरेका केही समस्यालाई उजागर गर्न मात्र खोजेको प्रस्ट्याएका छन्। बंगलादेशमा अध्ययनरत रहँदा नै नेपाली विद्यार्थीले आत्महत्या गरेको र हिंसाजन्य केही घटना उजुरीका रुपमा समेत आएको उल्लेख गर्दै मन्त्री तामाङले नेपालमै यस्ता विषयमा अध्ययनको व्यवस्था भए नेपाली विद्यार्थी पीडित हुन नपर्ने आफ्नो भाषणको आशय रहेको समेत बताएका छन्।
उनले महिलाहरुको आत्म सम्मान, हिंसामुक्त समाज र नारी अस्मीताको रक्षामा आफू सदैव प्रतिबद्ध र क्रियाशील रहने मन्त्री तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन्।
