काठमाडौं, पुस ४ः घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ ।
यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो ।
महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने कुहिने स्रोतमा वर्गीकरण गरी घरमै कम्पोस्ट मल बनाई फोहोर न्यूनीकरण कार्यमा सहयोग गर्न’ अनुरोध गरेको छ । कम्पोस्ट मल बनाउने विन सहुलियत दर १ हजार ५ सयमा उपलब्ध गराइने भएको छ ।
वातावरण तथा कृषि विभाग, टेकुले ‘कम्पोस्ट विन’ लिन चाहने काठमाडौंबासीले आज मंगलबारसम्म सम्पर्क गर्न आग्रह गरेको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै ‘स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्डजरिमाना गर्ने’ चेतावनी दिइएको थियो ।
तर, महानगरले सूचना जारी गरेको चार महिनासम्म पनि फोहोर वर्गीकरण हुन सकेको छैन । महानगरमा नयाँ जनप्रतिनिधि चयन हुँदै गर्दा फोहोर नउठेर विकराल समस्या आएको थियो ।
महानगरदेखि केन्द्र सरकारसम्म काठमाडौं उपत्यकाको फोहोर समस्या समाधानतिर लागेका थिए । तत्कालका लागि उठ्न थालेपछि महानगरले पनि व्यवस्थापन दीर्घकालीन योजना बिर्सेको र वर्गीकरण विषयसमेत बेवास्ता गरेको पाइएको हो ।
नुवाकोट र धादिङ बन्चरेडाँडा तथा सिसडोलका बासिन्दासँग फोहोर वर्गीकरण गर्ने, सडक बाटो निर्माण तथा मर्मतलगायत विषयमा समझदारीपछि फोहोर बिसर्जन सहज हुन पुगेको छ ।
तर, स्थानीय अवरोध हटेसँगै सरकारी निकायले आफ्नो कर्तव्य भुलेसँगै पुनः काठमाडौंको फोहोर उठ्ने समस्या बल्झने खतरासमेत बढेर गएको छ ।
६ किसिमका झोलामा छुट्याइँदै
चन्द्रागिरी नगरपालिकाले फोहोर ६ किसिमका झोलामा छुट्टाछुट्टै संकलन तयारी थालेको छ । नगरबासीलाई घरबाट निस्किने फोहरको अधिकांश भाग आफैं व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई ६ वटा अगल–अलग झोला वितरण गरिनेछ ।
नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले संकलन हुने फोहर परिमाण उल्लेख्य घटाउन र बाँकी फोहर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो । यसअन्तर्गत नगरवासीलाई हरियो, रातो, कालो, सेतो, नीलो र पहेंलो गरी ६ प्रकारका झोला वितरण गरिनेछ ।
उनीहरूलाई हरियो झोलामा तरकारीलगायतका खाद्यपदार्थबाट निस्किएका फोहर राख्न भनिने छ । सम्भव भएसम्म हरियो झोलामा संकलन हुने फोहरबाट मल बनाउन उत्प्रेरित गर्ने नगरपालिकाको अवधारणा छ । राजधानी दैनिकबाट