कास्की, फागुन १२: पोखरा फेवातालमा सोमबार दिउँसो डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ ।
बेपत्ता हुनेमा काठमाडौं महानगरपालिका १२ का २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जानकारी दिएको छ ।
३ जना सवार डुंगा दुर्घटना २ जनालाई प्रहरीले उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए । उद्धार हुनेमा काठमाडौं महानगरपालिका १२ कै रुपेश अधिकारी र सुविन चालिसे रहेका छन् ।
उक्त डुंगा चालकबिना उनीहरु आफैंले चलाएर लगेको हुँदा डुंगा खपौंदी क्षेत्रमा पल्टिएको डीएसपी ढकालले बताए ।
दुर्घटना हुनुको अनुमान गर्दा चलाउँदा चलाउँदै पानी भरिएर पल्टिएको भन्ने कुरा आएको छ । बाँकी अनुन्धान भइरहेको छ, डिएसपी ढकालले बताए ।
प्रहरीका अनुसार फेवातालमा डुंगा चढ्दा चलाउँदा लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट नलगाएको जनाएको छ ।
प्रहरीले फेवातालमा हराइरहेका लुइँटेलको खोजी कार्य तीब्र पारिएको जानकारी दिएको छ ।
डुंगा पल्टिएको देखेपछि पोखरा महानगरपालिका ८ का एक स्थानीय वासिन्दा उद्धार गर्न गएका थिए ।
तर, उनी पनि तालमै भएपछि सशस्त्र प्रहरीले उनलाई समेत उद्धार गर्नु परेको थियो ।
उद्धार गरिएका दुई जनाको पोखराकै मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।