काठमाडौँ, साउन ९ : हिजो मंगलबार देखि सुरुभएको सरकार र अनशनरत डा गोविन्द केसी पक्षबीचको वार्ता अन्तत् अवरुद्ध भएको बताइएको छ ।
मागप्रति सरकार गैरजिम्मेवार र संवेदनविहीन भएको आरोप लगाउँदै डा गोविन्द केसी वार्ता टोलीका संयोजक डा अभिषेकराज सिंहले बुधबार विज्ञप्ति निकालेर तत्काल अर्को चरणको वार्ता नगर्ने जानकारी गराउँदै डा केसीको जिवन रक्षाका लागि संघर्षको अर्को विकल्प नरहेको प्रष्टाएका छन् ।
डा अभिषेकराज सिंहले वक्तव्यमा भनेका छन् हामीले सरकारलाई उपलब्ध गराएको सूचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिबद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउँछौं ।
सत्याग्रही डा केसीको स्वास्थ्य अत्यन्तै नाजुक हुँदा समेत सरकारी पक्ष चरम गैरजिम्मेवार र संवेदनविहीन हुँदै विधेयकसम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको उनको आरोप छ।
सरकारी पक्षको अलमलका कारण डा केसीको स्वास्थ्यमा क्षति पुग्ने अवस्था आएको भन्दै उनले यस्तो अवस्थामा थप अलमल गरेर आफूहरु झनै जोखिममा पार्न तयार नरहेको विज्ञप्तिमा जनाइएको छ।
सरकारले छलकपटपूर्वक डा केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने काम गरेको भन्दै डा सिंहले सरकार प्रति कडा आपत्ति जनाएका छन्।
झण्डै चार साताको संवादहीनता तोड्दै मंगलबार साँझ सरकार र केसी पक्षबीच वार्ता भएको थियो। उक्त वार्ता प्रति डा गोविन्द केसी पक्षका वार्ता समितिका सदस्य ओमप्रकाश अर्यालले बुधबार बिहानै सरकारको रवैया प्रति आशंका व्यक्त गरेका थिए ।