फेरि झाँगिन थाले फुटपाथ पसल

रिपोर्ट नेपाल | 2021 Nov 16 | 07:35 am 3129

काठमाडौँ, कात्तिक ३०ः महानगरका मुख्य व्यापारिक केन्द्रका सडक दायाँ–बायाँ किनारामा फुटपाथ पसल राख्ने व्यवसायीको सङ्ख्या बढ्न थालेको छ । यो समस्या सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाभित्र देखिन्छ । केही वर्षअघि निकै राम्रो, सफासुग्घर देखिएको काठमाडौँ महानगरपालिकामा अहिले फुटपाथमा पसल राख्ने र उनीहरूले गर्ने फोहोरका कारण समस्या बढ्न थालेको छ । नगरलाई व्यवस्थित राख्न काठमाडौँ महानगरले राखेका नगर प्रहरी फाट्टफुट्ट देखिए पनि उनीहरूको सेवा अपेक्षित प्रभावकारी नदेखिएको गुनासो सर्वसाधारणको छ । २०५० सालमा काठमाडौँको असन, इन्द्रचोक, सुन्धारा, रत्नपार्कको भीडभाड र बजार व्यवस्थापनको खाका लिएर नगर प्रहरी खडा भएको थियो ।

महानगरका नगर प्रहरी बलका प्रमुख धनपति सापकोटाले महानगरका हरेक क्षेत्रमा उत्तिकै भीड भएको तर नगर प्रहरी पर्याप्त नभएको गुनासो गर्दै भने, “अभाव भए पनि महानगरवासीले नगर प्रहरीलाई नटेर्ने गरेको अनुभव नगर प्रहरी बललाई छ । ३३५ दरबन्दी छ तर १८० जना कार्यरत छन् । अब १५० जना थप गर्ने प्रक्रियामा छ ।”

केही फुटपाथे व्यवसायीले महिनावारीका रूपमा नगर प्रहरीलाई रकम बुझाउने गर्छन् भन्ने पनि स्थानीयको आरोप छ । फुटपाथे व्यवसायीका नाइके मानिएका विशालबजार परिसरका सुशील भण्डारीले नोटलाई चुरोटजस्तो गोलो बेरेर हातमा हालिदिनुपर्ने नभए बजारमा टिक्न नदिने गरेको गुनासो गरे ।

नगर प्रहरी बलका प्रमुख सापकोटाका अनुसार फुटपाथ व्यवस्थापन, भीडभाड नियन्त्रण, सवारी पार्किङ, होर्डिङबोड व्यवस्थापन, फोहोरमैला नियन्त्रणलगायत अनेक जिम्मेवारी महानगरलाई दिइएको छ । नगर प्रहरी नायब उपरीक्षक केदार कार्कीले जनशक्ति कम हुँदा निकै कठिन साथ महानगरभित्रका सामाजिक समस्या व्यवस्थापन गर्नुपरिरहेको बताए ।

सार्वजनिक स्थलमा रुखका हाँगा छिमल्ने, सँधियार छरछिमेकका झैझगडा मिलाउनसमेत यो प्रहरी खटिँदै आएको छ । काठमाडौँ लायकु साः का ज्येष्ठ नागरिक रामकृष्ण मानन्धरले मुद्दाको म्याद तामेली, आगजनी, अभद्र व्यवहारलगायतमा पनि सेवाग्राहीले प्रहरीको सेवाको अपेक्षा गरिरहेको बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.