काठमाडौं, असोज १८: राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १ सय १७ रुपैयाँ ६५ पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो । यसले डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने देखाउँछ । बुधबार एक अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैयाँ ९६ पैसा थियो ।
खासगरी चालु आर्थिक वर्षको सुरुदेखि अमेरिकी डलरसँगको तुलनामा स्वदेशी मुद्रा (नेरु) कमजोर हुने क्रम निरन्तर रूपमा चलिरहेको छ । सोही क्रममा गत असोज ३ मा एक अमेरिकी डलरको विनिमय दर १ सय १७ रुपैयाँ ७ पैसा पुगेको थियो । त्यसपछि केही दिन यो घटेर १ सय १५ रुपैयाँ ८२ पैसासम्म झर्यो । त्यसपछि डलर थप बलियो बन्न थालेको छ । यही क्रममा बिहीबार १ सय १७ रुपैयाँ ६५ पैसा पुगेको हो ।
सामान्यतया भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि पर्छ । भारुसँग स्थिर विनिमय दर रहेकाले भारु बलियो बन्दा नेरु पनि बलियो र कमजोर हुँदा नेरु पनि कमजोर हुन्छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भए लगत्तै नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।
डलर बलियो हुदाँ एकातिर रेमिटयान्स आप्रवाह (मुलुक भित्रिने रकम) सँगै रेमिटयान्स पठाउनेको संख्या पनि बढ्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीहरू स्वदेशमा पैसा पठाउन उत्साहित हुने गर्छन् । यसले ठूलो मात्रामा रेमिटयान्स आँउछ । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ । यसरी रेमिटयान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ ।
यसैगरी विदेशी मुद्रा भित्र्याउने माध्यमहरू अपेक्षित रूपमा सुधार हुन नसक्दा यतिबेला मुलुकले ठूलो नोक्सान व्यहोरिरहेको छ । सबैभन्दा बढी नोक्सान वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा भइरहेको छ । केही वर्षयता आयात तीव्र गतिमा उकालो लागिरहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व निरन्तर रूपमा बढिरहेको छ । यसको प्रत्यक्ष असर मुलुकको चालु खाता र शोधनान्तरमा परेको छ ।
केही महिनायता सबै उदीयमान राष्ट्रका (इमर्जिङ कन्ट्री) को अर्थतन्त्रमा समस्या देखिन थालेको छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधारसँगै ती राष्ट्रको आर्थिक गतिविधि प्रभावित बनेकाले नेरु पनि कमजोर भएको राष्ट्र बैंकले जनाएको छ । हाल डलरको तुलनामा सबैजसो राष्ट्रको मुद्रा कमजोर भएका छन् । विश्व बजारमै डलर निरन्तर रूपमा बलियो बन्दै गएपछि त्यसको असर भारतीय अर्थतन्त्रमा पनि परेकाले डलरको तुलनामा भारु कमजोर बन्दै गएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका पछिल्ला नीतिहरूले घरेलु अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै लगानीकर्ताहरूको मनोबल पनि बढेकाले अमेरिकी डलर विश्व बजारमै निरन्तर रूपमा बलियो बन्दै गएको हो । मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरी लगानीकर्तालाई स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्नु, विदेशबाट आयातित वस्तुको भन्सार बढाएर स्वदेशी वस्तु तथा सेवा प्रयोगमा जोड दिनु, बेरोजगारी दरमा उल्लेख्य सुधार आउनुलगायत राष्ट्रपति ट्रम्पले चालेका पछिल्ला नीतिहरू हुन् ।
स्वदेशमै राम्रो प्रतिफल पाइने भएपछि लगानीकर्ताहरू विदेशमा लगानी विस्तार गर्न निरुत्साहित भएको तथा केही लगानीकर्ताले अन्य राष्ट्रहरूबाट लगानी फिर्ता लिइरहेका छन् । यसकारण पनि डलर दिनहुँजसो बलियो बन्दै गएको जनाइएको छ ।