फूल टिप्न र माला बनाउन भ्याइनभ्याइ

| 2022 Oct 20 | 06:54 am 1425

पाल्पा, कात्तिक ३ः भाइटीकामा प्रयोग हुने फूल टिप्न र माला बनाउन पाल्पाका फूलखेती गर्ने किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिहार नजिकिएसँगै मखमली, सयपत्री, गुर्धौली (गुर्दाैली, गोदावरी) जस्ता फूल टिप्न र माला बनाउन पाल्पाका किसान व्यस्त बनेका हुन् ।

तीन महिनाअघि पाल्पाका किसानले लगाएको फूल ढकमक्क फुलेको छ । त्यसैले किसान माला बनाउन र प्याकेजिङ गर्न व्यस्त छन् । तिहार नजिकिएपछि भाइटीकाका लागि आवश्यक पर्ने फूलका माला बनाउन आफू व्यस्त बनेको तानसेन–१०, तेल्घाका किसान विष्णुमाया खत्रीले बताइन् । दस रोपनीमा लगाएको मखमलीका फूल टिप्न र माला बनाउन यतिबेला आफू व्यस्त रहेको खत्रीले बताइन् ।

तिहारका लागि बुटवल, भैरहवा, तानसेनबाट मखमलीका मालाको माग आएकाले फूल टिप्न र माला बनाउन परिवारका सबै सदस्य व्यस्त बनेको उनले बताइन् । मखमलीको माला लामो समयसम्म नओइलिने भएकाले यसको माग धेरै हुने गरेको छ ।

गत वर्ष तिहारमा मात्रै एक लाख रुपियाँको फूलका माला बिक्री गरेकाले यो वर्ष डेढ लाख रुपियाँको माला बिक्री गर्ने उनको लक्ष्य छ । खत्रीले अहिले मखमलीको प्रतिमाला एक सयदेखि १५० रुपियाँमा बिक्री गरिरहेकी छन् ।

पाल्पाको रामपुर, माथागढी, तिनाउ, तानसेन, बगनासकालीलगायत स्थानका किसानले फूलको व्यावसायिक खेती गर्दै आएका छन् । जिल्लाको रामपुर र तानसेनबाट सबैभन्दा बढी फूलका माला निर्यात हुने गरेको छ । मखमली र सयपत्री फूलका माला जिल्लाबाहिर बिक्री हुने गरेको माथागढी–२, रुप्सेका किसान दामोदर घर्तीले बताए । सानो मेहनतले पनि राम्रो आम्दानी हुने भएकाले फूल खेतीमा आफू सन्तुष्ट रहेको घर्तीले बताए ।  गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.