फिस्लिङ प्रहरी चौकीको कार्यालयबाट हामफाल्दा एकको मृत्यु

| 2019 Nov 17 | 02:26 pm 1857

चितवन, मंसिर १: आइतबार अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको नियन्त्रणमा रहेका एकजना बरण्डाबाट हामफालेर भाग्ने क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत जवान भएको बुझिएको छ ।

कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेलले बिहान ७ः३० बजे बरण्डाबाट हामफालेका थिए ।

घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो ।

इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुव्र्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.