काठमाडौँ असोज ५ | भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राईले ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर रु ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।
निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत रु ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
सामाजिक सञ्जालमार्फत साथी बनाएर इमेल आइडी बनाउन र फिफिया एप इन्स्टल गर्न लगाउनाका साथै बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाएर पीडितलाई सोही एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
विभिन्न देशबीच हुने फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै उक्त रकम ठगेको भेटिएकाले निजविरुद्ध प्रचलित कानुनबमोजिम ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको जनाएको छ ।