मृतकका आफन्त र प्रशासनबीच सहमति, आन्दोलन फिर्ता

| 2018 Nov 22 | 04:03 pm 1925

सुनसरी, मंसिर ६ : सुनसरीको दुहबी छाताबेलीका फिदा हुसेनको हत्या प्रकरणमा मृतकका आफन्त र सुनसरी प्रशासनबीच सहमति भएको छ । आज दुहवीमा भएको दुवै पक्षबीचको वार्तामा गृहमन्त्रीको राजीनामा बाहेक पीडित पक्षका सबै माग सम्बोधन गरिने सहमति भएको हो ।

हत्यापछि घोषणा गरिएका यातायात बन्द लगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् । मृतकको शव पोस्टमार्टमका लागि पठाइँदै छ । यस अघि हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले गृहमन्त्री रामबहादुर थापा घटनास्थल आउनु पर्ने अडान राख्दै प्रदर्शन जारी राखेका थिए ।

मुसलमान समुदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्री थापाले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनीहरूको माग थियो । हुसेन हत्याको विरोधको प्रभाव सुनसरीको दुहवी सहित भमरी,औराबनी, इनरुवा लगायतका क्षेत्रमा समेत परेको थियो ।

दुहवी सडक अवरुद्ध हुँदा सो सडक खण्ड भएर गुड्ने सवारीका साधन ठप्प बनेका थिए भने दुहवीका उद्योग कल कारखाना, शिक्षण संस्था र बजार पूर्णरुपमा बन्द भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.