प्लाइउड उत्पादक संघ गम्भीर

रिपोर्ट नेपाल | 2022 Mar 07 | 07:20 am 2557

काठमाडौं, फागुन २३ः प्लाइउड व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिको ‘राजस्व छली प्रकरण’ विषयमा नेपाल प्लाइउड उत्पादक संघसमेत गम्भीर बनेको छ । नेपालका ८० भन्दा बढी प्लाइउड उत्पादक कम्पनीको छाता संगठनका रूपमा रहेको संघले ‘कसैले पनि कच्चा र पक्का बिल कारोबार गरी राजस्व छली गर्न नहुने’ प्रस्ट पारेको छ ।

भगवती लेमिनेट्स राजस्व छली प्रकरण

भगवती लेमिनेट्सले ‘राजस्व छली गरेको पाइए कडा कारबाही हुनुपर्ने’ मान्यता संघको छ । संघ वरिष्ठ उपाध्यक्ष हुमप्रसाद घिमिरेले भगवतीमाथि राजस्व अनुसन्धान विभागले गरिरहेको छानबिनमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन् ।

‘कसैले पनि राजस्व छल्न पाउँदैन, सबैले नियमअनुसार कारोबार सञ्चालन गर्नुपर्छ,’ प्लाइउड उत्पादक संघ वरिष्ठ उपाध्यक्ष घिमिरेले भने, ‘सरकारी निकायलाई हाम्रो पूर्ण सहयोग र साथ रहन्छ ।’ सरकारलगायत सञ्चारमाध्यम तथा सबैले उद्योगमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले ‘उद्योगहरू नियम कानुन र विधिमा सञ्चालन हुनुपर्ने’ आवश्यकतासमेत औंल्याए ।

राजस्व छलीमा रेकर्ड कायम गर्दै भगवती लेमिनेट्सले नक्कली बिलमार्फत कारोबार गरी राजस्व छल्दै आएको छ । उसले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै राजस्व छली गर्ने उद्देश्यले ८० करोडभन्दा बढीको कारोबार कच्चा बिलमार्फत गरेको पाइएको छ । भगवतीले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छल्दै आएको छ । पटकपटक छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्स केन्द्रीय कार्यालयमा छापा मारेर सबै कागजात नियन्त्रणमा लिएको थियो ।

हाल, अध्यक्ष रजनिश कर्नानी तथा सञ्चालकहरू विनित अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, रतनकुमार अग्रवाल, दीपेन्द्रकुमार अग्रवाल र सन्तोष आचार्यमाथि विभागले छानबिन गरिरहेको छ । उनीहरूमध्ये केहीसँग बयान लिइसकिएको र केहीको बयान लिन बाँकी रहेको विभागले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.