प्रेस स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो:उत्सब नरसिंह केसी

| 2024 May 04 | 10:31 am 257

काठमाडौँ २२ फागुन / प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण र मजबुत पक्ष हो। लोकतन्त्रको आधारभूत तत्व प्रेस स्वतन्त्रता जनताको सुसूचित हुने अधिकारसँग जोडिएको मौलिक हक हो।राज्यको चौथो अंगका रुपमा परिचित र प्रजातन्त्रको मेरुदण्ड मानिने प्रेस स्वतन्त्रताले वास्तवमा समग्र नागरिक र समाजको स्वतन्त्रतासँग सरोकार राख्दछ।

प्रेस सरकारका खराब प्रवृत्तिलाई सच्याउने तथा समाजका सकारात्मक-नकारात्मक गतिविधिलाई उजागर गर्ने एउटा सशक्त पक्ष हो।यहीँ आलोचनाबाट जवाफदेहिताको त्यो ढोका खोलिन्छ,जुन समतामूलक समाज निर्माणका निम्ति अपरिहार्य हुन्छ। प्रेस स्वतन्त्रताबिनाको पत्रकारिता कल्पना पनि गर्न सकिन्न।

 

हरेक वर्ष ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएको छ।नेपलमा पनि यस दिनलाई पत्रकार महासंघ,प्रेस युनियन लगायतका संघसंस्थाले हर्षोउल्लासका साथ मनाउदै आएका छन्।

 

सर्वप्रथम त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा भएका संघर्षहरुमा आफ्नो अमुल्य जीवन अर्पण गरेका ज्ञात तथा अज्ञात सम्पूर्ण सञ्चारकर्मीहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्न चाहन्छु।

 

प्रेस आवाजहिनहरुको प्रतिनिधि,लोकतान्त्रिक जगतको सशक्त सूचना सम्प्रेषणको संवाहक हो।मुलुकको समृद्धि प्रेस स्वतन्त्रताबिना सम्भव छैन।प्रजातन्त्रको पुनःआगमनसँगै नेपालमा सञ्चारगृह र प्रेसकर्म प्रतिको उत्साह उल्लेखनीय रुपमा बढेको छ।

 

साथै सरकारी तथा राजधानी केन्द्रित निजी सञ्चार माध्यमको एकाधिकार समेत तोडिएको छ।यो एउटा गज्जबको विकास हो तथापि हरेक विकाससँगै आउने चुनौतीहरु झैं प्रेस स्वतन्त्रता अनि निष्पक्षताका मर्महरु नेपालमा कत्तिको सम्बोधन अनि समाहित गर्न सकिएको छ त? विचारयोग्य छ,अनि मनन गर्न झकझक्याउने पनि छ।

 

नेपालमा प्रेस स्वतन्त्रता अभ्यासको मुख्य कानुनी स्रोत नेपालको संविधान २०७२ हो।नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेपश्चात् हाल यो व्यवहारिक कार्यान्वयनको क्रममा छ।संविधानको धारा १९ को उपधारा १ मा प्रेस स्वतन्त्रता सम्बन्धि व्याख्या गरिएको छ।तर शासकको नियतमा खोट भएमा कुनै पनि बहानामा प्रेसमाथि अंकुश वा नियन्त्रण गर्न सकिने संवैधानिक सीमा राखिएको छ।

 

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था एक अर्थमा चुनौतीपूर्ण बन्दै गएको छ।सार्वजनिक पद धारण गरेको व्यक्तिले पदीय दुरुपयोग तथा आलोचनाको खबर पचाउन नसक्दा
पत्रकारमाथि धेरै घटना हुने गरेको छ।यस प्रकारका तल्लो स्थरको गतिविधिका कारण प्रजातन्त्र नै धरापमा पर्ने संकेत देखिन्छ।

 

प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता हो।नेपालको लोकतन्त्रको विकास,विस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका अतुलनीय र प्रशंसनीय छ।सञ्चार जगत आफूले प्राप्त अधिकारहरुको उपयोगका लागि सधैं जस्तै निर्भिकतापूर्वक लागिरहेको छ।

 

संकटको समयमा प्रेस स्वतन्त्रताको महत्त्व झन बढि हुन्छ।संकटको समयमा सूचना संकलन मात्रै महत्त्वपूर्ण नभई;विभिन्न पात्र वा व्यक्तिको उदार गर्नु मानवीय धर्मको अंश बन्छ।सञ्चारकर्मीहरुमा आफू पनि सजक रहेर काम गर्ने र आम दर्शक,स्रोता र पाठकहरुलाई सूचित गरी सुरक्षित बनाउने दोहोरो जिम्मेवारी छ।

 

तसर्थ सञ्चारकर्मीहरुमा ऊर्जा र हौसलाका साथ सरोकारवाला र आम नागरिकलाई झकझकाउन निरन्तर लागिरहने उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु। स्वतन्त्र प्रेसको पक्षधर म पनि हुँ तर घरमै बसेर जे पनि लेख्न मिल्छ?के यो पत्रकारिता हो?प्रेस स्वतन्त्रताको नाममा कसैका बारेमा जेजस्तो लेख्न-बोल्न छुट छ? प्रेस स्वतन्त्रता उपयोग गर्न चाहनेले आफ्नो जिम्मेवारी पनि बिर्सन भएन।

 

देखासिकीका भरमा सञ्चार क्षेत्रमा होमिएका कतिपय पत्रकारहरुसँग बौद्धिक/सैद्धान्तिक ज्ञान र व्यवसायिक सीपको कमी देखिएको छ।साथै सञ्चारमाध्यमले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिदा प्रजातन्त्र अनि सूचनाको अधिकारमाथि नै धक्का पुगेको छ।

 

प्रेसको धर्म भनेको सरकारको प्रतिपक्षको भूमिका निर्वाह गर्नु पनि हो।सञ्चारकर्मीले भय र पक्षधरतामुक्त पत्रकारिता गर्नुपर्दछ।पत्रकारिताको सिद्धान्त अनुरुपको सदैव सत्यतथ्य,निष्पक्ष एवं जिम्मेवार पत्रकारिता नै आजको आवश्यकता हो।विगतका राजनीतिक परिवर्तन तथा सरकार निरंकुश हुदा प्रेस जगतले भोगेको पिडा हामी सबैलाई सर्वविदित नै छ र यसप्रति हामी सचेत हुनुपर्दछ।

 

सामाजिक मूल्य मान्यताको संवर्धन गर्दै देशको विकास तथा भ्रष्टाचार लगायतका मुद्दामा सरकारलाई दबाब सृजना गर्नुका साथै जनताका मौलिक अधिकारलाई कुण्ठित हुनबाट रोक्न प्रेसको अहं भूमिका रहन्छ। सही,सत्य र निष्पक्ष समाचार सम्प्रेषणमा ज्यानकै बाजि थाप्न पनि पछि नपर्ने यी सञ्चारकर्मीहरूलाई हृदयदेखि नै नमन अनि भविष्यमा प्रेसलाई राजनीतिक र व्यवसायको थलो बनाउने सुनियोजित कार्य नहोस्।

 

हाम्रो चाहना यहीँ हो।साथै सही समाचार अनि सूचना हाम्रो अधिकार हो भने प्रेस सुरक्षा अनि स्वतन्त्रता पनि हाम्रो दायित्व हो भन्ने विषयलाई आत्मसाथ गरौँ।विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना!

 

लेखक शंकरदेव क्याम्पस नेविसंघ विद्यार्थी नेता हुन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.