काठमाडौँ २४ बैशाख / राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका छन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा शीतल निवासमा सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष भएको बताए ।
सो अबसरमा राष्ट्रपति पौडेलले पत्रकारिताको धर्म र व्यवसायिकताको माध्यमबाट राष्ट्रहितको प्रवर्द्धन गर्न यस क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताए। निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उनले स्मरण गरे ।
सूचना प्रविधि र इन्टरनेटको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना प्रवाह गर्न नेपाली प्रेस आगामी दिनमा अझै प्रभावकारी ढङ्गले अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
सो अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) तथा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानीसिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) पुरस्कृत भए ।