बाजुरा, फागुन १०: जिल्लाको सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
बम डिस्पोज गर्दा स्थानीय धर्म रोकायाको घर र सोमा घरमा रहेको पिसविन बाजुरा नामक गैरसरकारी संस्थाको कार्यालयमा क्षति पुगेको छ।
बमले सो घरका झ्याल ढोका, एक पिल्लरमा क्षति पुर्याएको छ भने कार्यलयका कम्युटर लगायत केही समानमा क्षति भएको हो ।
शुक्रबार राति पिसविन रहेको घरनजिकै झोलामा बेरेर राखिएको बेवारिसे बम भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताए ।
जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका थिए । उक्त स्थानमा बम कसले र किन राखेको हो भन्ने खुल्न सकेको छैन ।
यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए ।