पर्सा, पुस ९ : प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा पर्साका एक युवकले कक्षा ११ मा अध्ययनरत छात्रामाथि बाटैमा छुरा प्रहार गरेका छन् ।पर्साको पर्सागढी नगरपालिका–१ बागवानाकी सकुन्तदा कुमारीलाई छिमेकी युवक जयकिशोर चौधरीले बाटैमा छुरा प्रहार गरेका हुन् ।
सोमबार बिहान विद्यालय जाँदै गर्दा चौधरीले बाटोमै रोकेर छुरा हानेका हुन् । सकुन्तला स्थानीय जनता उच्च मावि बढनिहारमा कक्षा ११ मा पढ्छिन् ।
चौधरीको प्रेम प्रस्ताव अस्वीकार गरेपछि शकुन्तलामाथि छुरा प्रहार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट सकुन्तलाको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार जारी छ ।
जयकिशोरलाई प्रहरीले पक्राउ गरेको छ । छुरा प्रहार गर्ने दोषीलाई हदैसम्मको कार्बाही हुनुपर्ने माग गर्दै मनवा प्रहरी चौकी अगाडि प्रदर्शनमा उत्रिएका स्थानीय महिलाले चौकीको कम्पाउण्ड वाल समेत भत्काएका छन् ।