प्रादेशिक अस्पतालमा चिकित्सकको अभाव

रिपोर्ट नेपाल | 2019 Jan 21 | 07:20 am 2072

लमही, माघ ७ : दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ ।

सोह्र विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले छ मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताए।

आफूसहित डा जनार्दन पन्थी, डा विनोद सिंह, डा मीनचन्द्र अधिकारी, डा पदमराज अधिकारी, डा प्रशङ्सा सिंह मात्रै रहेको उहाँको भनाइ छ । यीबाहेक १० विशेषज्ञको दरबन्दी खाली हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उनले बताए। राष्ट्रियसभा सदस्य कोमल वलीले आइतबार उक्त अस्पतालको अनुगमन गर्ने क्रममा अस्पतालका समस्या सुनाउँदै उहाँले यस्तो जानकारी दिए।

मानसिक रोग, छाला, नाक कान, बेहोस बनाउने, बलरोग तथा हड्डीसम्बन्धी विशेषज्ञ मात्रै रहे पनि अन्य विशेषज्ञ चिकित्सकको अभाव रहेको उनको भनाइ थियो ।

अस्पतालमा भौतिक पूर्वाधारको अवस्था पनि कमजोर रहेको छ। अहिले १८ नर्सको दरबन्दी रहे पनि २४ नर्स हुनुहुन्छ, तर पनि त्यतिले मात्रै पनि नपुग्ने उनको भनाइ छ । उनका अनुसार अहिले दैनिक २०० देखि ३०० बिरामी आउने गरेका छन् । अस्पताललाई व्यवस्थित तरिकाले अगाडि बढाउने योजना रहेको उनको भनाइ थियो ।

त्यसअवसरमा राष्ट्रियसभा सदस्य वलीले दाङसहित, सल्यान, रोल्पा, रुकुम, बाँके, बर्दियालगायतबाट बिरामी आउने भएकाले यस अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ डा उपलब्ध गराउन मन्त्रालयमा प्रस्ताव राख्ने र राष्ट्रियसभामा पनि आवाज उठाउने प्रतिबद्धता जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.