बाँके असोज १९ । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहतमा रहेको इलाका प्रहरी कार्यालय जमुनाहमा जान बरिष्ठ सइहरु मरिहत्ते गर्छन् । राजश्व छलेका सामान नेपाल भित्र्याउने तस्करसँग मिलेमतो गरी रकम असुली गर्नका लागि मात्रै त्यहाँ जान हानथाप हुने गरेको समाचार प्राप्त भएको छ ।
त्यो इलाका प्रहरी कार्यालयमा जान जिल्लाको एसपीलाई खुशी पारेर मात्र होइन मासिक कति बुझाउन सकिन्छ भनेर टेण्डर गरेर मात्र जान पाइन्छ । जिल्लाभर १३ जना बरिष्ठ सइको दरबन्दी भए पनि बाँकेमा १८ जना वरिष्ठ सई रहेका छन् । ती मध्ये जमुनाह इलाका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्ने अवसर पाउने भाग्यमानी वरिष्ठ सई मिन बहादुर विष्ट हुन ।
उनको इलाका प्रहरी कार्यालय दमाचाैर सल्यान सरुवा भएका विष्टलाई दरबन्दीमा नपठाएर दस्रो पटक जमुनाह खटाइएको छ । तस्करका लागि जमुनाह नाका सहज हुने र वरिष्ठ सईसँग पुरानै हिमचिम भएका कारण तस्करको इच्छा बमोजिम विष्टलाई त्यहाँ पठाइएको भन्ने समाचार स्रोतको दाबी छ । विष्ट इलाका प्रहरी कार्यालयमा बस्नु भन्दा बढी तस्करको सामान कसरी गन्तव्य स्थलसम्म पुर्याउन सिकन्छ भन्ने ध्यानमा बढी लाग्ने गरेका छन् ।
प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउन पटक पटक दिएको लिखित निर्देशनलाई बाँकेमा राम्रैसँग टेरपुच्छर लगाइएको छैन । विष्ट पात्र मात्रै हुन थुप्रै चाैकीका इन्चार्जको सरुवा भएर पनि रमाना दिइएको छैन । दशैंका मुखमा नयाँ मान्छे पठाउँदा असुली गर्न नसक्ने ठहर गर्दै जिल्लाले रकम उठाउनकै लागि रमाना नदिएको समाचार स्रोत बताउँछ ।