काठमाडौं, पुस १०: ‘प्रहरी हूँ’ भन्दै वाकीटकी देखाएर धम्क्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका कुमार श्रेष्ठ रहेका छन् । काठमाडौंको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा उनलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।
थापाका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुर्व्यवहार गरी भाग्न खोजेको बताए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट वाकीटकी बरामद गरेको छ।
अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ। उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाए।