काठमाडौं, चैत्र २९ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोनमा चैत २६ देखि २८ गतेसम्म संचालन भएको १५औं इन्टरपोल Heads of NCB सम्मेलनमा सहभागी भई शुक्रबार स्वदेश फिर्ता भएका छन् ।
प्रहरी महानिरीक्षक खनाललाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कुरा गर्दै प्रहरी महानिरीक्षक खनालले सम्मेलनमा इन्टरपोलका १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी भएर एकआपसमा उच्च व्यवहारिकता आदानप्रदान गर्न प्लेटफर्म निर्माण भएको बताए ।
NCB हरुको साथै इन्टरपोल सचिवालयको काम कारवाहीमा क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा समेत केन्द्रीत हुन सुझाव दिइएको र क्षेत्रीय समस्याहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत छलफल भएको महानिरीक्षक खनालले बताए।
तालिम उपलव्ध गराउने सन्दर्भमा क्षेत्रीय रुपमा र कार्यप्रकृति अनुसार हुनुपर्ने तथा हरेक तालिमको आवश्यकता पहिचान गरेर सोही अनुरुपको तालिम उपलव्ध गराउन समिति समेत गठन भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले त्यसमा पनि नेपाल प्रहरीले योगदान दिनुपर्ने बताए ।
साइबर अपराध, संगठित अपराध र लागूऔषधको अवैध कारोबार नियन्त्रणमा सम्मेलन विशेष रुपमा केन्द्रीत रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले साइबर अपराध नियन्त्रण गर्न र यस्ता अपराधमा संलग्न प्रयोगकर्ताहरूको तथ्याङ्क लिने काम हुने, जुन उपलब्धीपूर्ण रहेको बताए ।

यसबाट अपराध भएको रेकर्ड इन्टरपोल प्रधान कार्यालयलाई पृष्ठपोषण गर्न सजिलो हुनेछ । सदस्य राष्ट्रहरुले भोगेका समस्याका विषयहरु र NCB हरुले इन्टरपोल प्रधान कार्यालयसँग आशा गरेका विषयमा समेत सम्मेलन बढी केन्द्रीत रहेको बताए।
NCB का कामकारवाहीलाई कसरी संगठित रुपमा सुदृढ गर्ने र NCB को आधुनिकीकरण गर्ने भन्ने विषयमा सम्मेलनमा विशेष छलफल भएको र त्यस विषयमा काठमाडौंका लागि एजेन्डा तय गरिने उल्लेख गरे ।
साथै साइबर सुरक्षाका लागि नेपाल प्रहरीले साइबर व्यूरो स्थापना गरेको पनि बताए । यसका लागि इन्टरपोलबाट दक्ष जनशक्ति वा सदस्य राष्ट्रका व्यवहारिकताको उपयोग गर्ने बारेमा कुरा राखिएको बताए ।
आगामी दिनमा इन्टरपोलको प्लेटफर्म एकआपसमा समन्वय गरी आपराधिक गतिविधिलाई निस्तेज गर्ने सन्दर्भमा उपलब्धीमुलक हुने विश्वास ब्यक्त गरे ।
इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष उक्त सम्मेलन संचालन हुने गर्दछ । यस वर्षको उक्त सम्मेलनमा इन्टरपोलका सम्पूर्ण १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागिता रहेको थियो ।