प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरे तेस्रो पिन्काथन शुभारम्भ

रिपोर्ट नेपाल | 2019 Feb 23 | 01:52 pm 1944

काठमडौं, फागुन ११ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय खेलकुद मैदानमा आज शनिबार आयोजित एक कार्यक्रमबीच तेस्रो पिन्काथनको झन्डोत्तलन गरी शुभारम्भ गरेका छन्।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लिजर पोर्ट नेपाल प्रालिको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा दौड प्रतियोगिता गरिएको हो । उक्त पिन्काथन दौड प्रतियागितामा २१ किमी, १० किमी, ५ किमी, ३ किमी र फरक क्षमताका महिलाहरुकाबीच प्रतियोगिता सम्पन्न गरिएको छ ।

उक्त प्रतियोगितामा प्रहरी महानिरीक्षक खनालले प्रतियोगिता अन्तर्गत २१ किमी दौडतर्फ प्रथम हुन सफल सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुलाई शिल्ड, मेडल तथा ५१ हजार रुपैयाँ नगद पुरस्कार, द्वितीय हुन सफल नेपाल प्रहरीकी राजपुरा पछाईलाई मेडल तथा ३१ हजार रुपैयाँ नगद पुरस्कार र तृतीय हुन सफल पुष्पा भण्डारीलाई मेडल तथा २१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रहरी महानिरीक्षक खनालले कार्यक्रमको प्रशंसा गर्दै यसले महिला सशक्तिकरणमा ठुलो योगदान पुर्‍याउने बताए ।

यस्ता कार्यक्रमले सचेतना जगाउन तथा व्यक्तिगत जागरुकता र स्वास्थ्य राम्रो बनाउन सहयोग मिल्ने उनले उल्लेख गरे ।

आयोजक संस्था तथा सहभागीलाई बधाई दिँदै प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा समेत समुदाय–प्रहरी साझेदारी अन्तर्गत यस्ता कार्यक्रममा सहकार्य गरी अघि बढ्ने बताए ।

प्रतियोगिता अन्तर्गत १० किमीतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल तथा नगद पुरस्कार क्रमशः ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ, ५ किमीतर्फ प्रथम हुनेलाई मेडल तथा नगद पुरस्कार ११ हजार रुपैयाँ, द्वितीय र तृतीय हुनेलाई मेडल र ३ किमीतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल प्रदान गरे ।

जनचेतना, महिला सशक्तिकरण र ब्रेस्ट क्यान्सरप्रति सचेतना जगाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्था लिजर पोर्ट नेपाल प्रालिका महानिर्देशक नमराज जोशीले जानकारी दिए ।

उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि र संचारकर्मीहरु समेतको उपस्थिति रहेका थिए । कार्यक्रममा करिब २ हजार ५ सय प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.