काठमाडौं, कात्तिक २६ः आफू प्रहरी हुँ भनी सर्वसाधारण जनतालाई विभिन्न किसिमका धाक धम्धी दिँदै हिड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका ८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका ३ बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखा मेलुङ गाउँपालिका ५ डाँडाखर्क घर भई हाल काठमाडौं बनस्थली ढुङ्गेधारा बस्ने ३३ वर्षीय तुल बहादुर मगर र नवलपरासी कावासोती नगरपालिका १२ पिठौली घर भई हाल काठमाडौं स्वयम्भु बस्ने ३६ वर्षीय गुविराम घले रहेका छन् ।
काठमाडौंको बालाजु माछापोखरी एरियामा केही व्यक्तिहरुले आफूलाई प्रहरीको इन्सपेक्टर हुँ भनी सर्वसाधारण मानिसलाई धम्की दिई रकम माग गरी दुःख हैरानी दिई अशान्ति श्रृजना गरेको भन्ने सूचना अपराध महाशाखामा प्राप्त भएकोले महाशाखाबाट टोली खटाईएको थियो ।
उक्त महाशाखाको टोलीले अपराधिक क्रियाकलापमा संलग्न रहेका त्यस्ता अपराधिक व्यक्तिहरुको सूचना संकलन गरी निगरानीमा राखी उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको सूचना अधिकारी (प्रवक्ता) प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाएको छ ।