कास्की, जेठ २३: गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत रही ईलाका प्रहरी कार्यालय सिमरा बारा काज सरुवा भई जान लागेका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीलाई बिहिबार एक कार्यक्रमका विच बिदाई गरिएको छ ।

बिदाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले बिदाई भएर जाने प्रहरी नायव उपरीक्षक पुरीलाई मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

त्यस्तै अन्य प्रहरी अधिकृतहरुले समेत प्रहरी नायव उपरीक्षक पुरीलाई पुष्पगुच्छा प्रदान गर्दै शुभकामना दिएका थिए ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रहरी नायव उपरीक्षक पुरीले व्यावसायिक प्रहरी सेवा प्रवाह नै आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै आगामी दिनमा नागरिकसँग हातेमालो गर्दै समाजका व्याप्त समस्यालाई पार लगाउन आफुलाई पोखरा बसाईले थप दक्ष बनाएको बताए ।

२०७४ भाद्र ९ गते महानगरीय प्रहरी वृत्त महाराजगंज काठमाण्डौबाट सरुवा भई गण्डकी प्रदेश प्रहरी कार्यालय हाजिर भएका नेतृत्वदायी क्षमताका धनी प्रहरी नायव उपरीक्षक पुरीले यसै अवधिमा मिति २०७४ भदौ २५ गते देखि ईलाका प्रहरी कार्यालय डाँडाकोनाक कास्कीको ईन्चार्ज सम्हालेका थिए ।

२०७५ असार १८ गते देखि पुनः गण्डकी प्रदेश प्रहरी कार्यालयमा हाजिर भई हालसम्म प्रदेश प्रहरी कार्यालयको सुचना अधिकारी अर्थात प्रवक्ता जस्तो महत्वपुर्ण जिम्मेवारी पदमा रहेका थिए ।