काठमाडौं, माघ २५ : नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली स्थायी घर भएका नवराज भण्डारी रहेका छन् ।
भण्डारीलाई शुक्रवार मध्यान्ह नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
४१ वर्षीय भण्डारीले उदयकान्त शाहलाई असई बनाइदिन्छु भन्दै दुई महिनाअघि एडभान्सको रुपमा ७० हजार लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । असईको परीक्षामा उदयकान्त फेल भएपछि उनले काठमाडौं प्रहरीमा भण्डारीविरुद्ध उजुरी गरेका थिए ।
काभ्रेस्थलीमा जग्गाको कारोबार गर्दै आएका भण्डारीले प्रहरीसँगको प्रारम्भिक बयानमा आफु समाजसेवी भएको बताएका छन् ।
यसैबीच, अवैध सुनको कारोबारमा संलग्न २ जनालाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीका सन्तोष यादव र धनुषाका समिन सफि रहेका छन् । यादव र सफिको साथबाट ३५० ग्राम परिणाम बराबरको ७ थान सुनका बाला बरामद गरिएको डिएसपी बोगटीले बताए ।