काठमाडौं, साउन १७ : प्रमुख विपक्षी कांग्रेसले संसद बैठक बहिस्कार गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कार्यसूची विपरित बोल्ने समय दिएको भन्दै नेपाली कांग्रेसले संसद बैठक बहिस्कार गरेकाे हो ।
गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नहरुको जवाफ दिए लगत्तै प्रश्नोत्तर गर्न उनीहरुले माग गरेका थिए। तर सभामुखले परराष्ट्रमन्त्री ज्ञवालीलाई समय उपलब्ध गराएका पछि कांग्रेस सांसदहरुले बैठक अस्वीकार गरे।
ज्ञवालीले आफ्नो विदेश भ्रमणबारेमा सदनलाई जानकारी गराएसँगै सभामुख कृष्णबहादुर महराले उठिरहेका कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरेका थिए। उनले अर्को दिन प्रश्न गर्ने समय दिने भन्दै आज बसेर संसदको कारबाही अगाडि बढाउनको लागि सहयोग गर्न आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरुले अस्वीकार गरे।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि कांग्रेस सांसदहरुले प्रश्नउत्तर मागेका थिए । तर सभामुखले संसदीय समितिहरु गठनको सूचना पढे । कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला उनले नाम पढे ।
त्यसपछि सभामुखले अर्थमन्त्री विमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । कांग्रेस सांसदहरुले प्रश्न उत्तरको माग गरिरहे । तर, ‘सभामुखले आजका लागि समय दिन सकिनँ’ भनेपछि कांग्रेस सांसदहरु बैठकबाट बाहिरिए ।