काठमाडौं, असार २५: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुको अवरोधका कारण मंगलबारको संसद बैठक सूचना टाँसेर आजसम्मका लागि स्थगित भएको छ ।
कांग्रेस र राजपाले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि पहिलोपटक स्थगित भएको थियो ।
सर्लाहीका विभिन्न ३ वटा घटनाबारे गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुले सत्यतथ्य छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् । सभामुखले समिति गठनबारे दलहरुबीच सल्लाह गर्नुपर्ने भन्दै बैठक सञ्चालन गर्न पटक–पटक अनुरोध गरेपनि सांसदहरुले वेल घेराउ गरेर सदनको काम कारवाही अवरोध गरेपछि बैठक केहीबेर स्थगित भएको थियो ।
सभामुखले संसदमा भएका पार्टीहरुसँग आवश्यक परामर्श गर्न केही समय चाहियो भन्दै पटक–पटक आसन ग्रहणका लागि सांसदहरुलाई अनुरोध गरेका थिए । तर कांग्रेस र राजपाका सांसदहरुले तत्काल समिति गठन हुनुपर्ने माग छोडेनन् । सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले प्रतिपक्षी दलले संविधान र नियमावलीलाई उल्लंघन गरेको भन्दै नियमापत्ति जनाएका थिए । नेपाल समाचारपत्रबाट