प्रभावकारी बन्दै हवाई उद्धार

रिपोर्ट नेपाल | 2020 Aug 18 | 02:17 pm 2082

डोल्पा, भदौ २ः हिमाली जिल्ला डोल्पामा गर्भवती तथा सुत्केरी महिला लक्षित राष्ट्रपति हवाई उद्धार कार्यक्रम प्रभावकारी देखिएको छ । सुरक्षित सुत्केरी सेवा नपाएर अकालमै ज्यान गुमाउँदै आएका डोल्पाली महिलालाई अप्ठेरो परेको अवस्थामा निःशुल्क हेलिकप्टरबाट उद्धार हुन थालेपछि यो कार्यक्रम प्रभावकारी देखिएको हो ।

सडक यातायातको भरपर्दो पहुँच नभएको डोल्पामा आर्थिक वर्ष २०७६्७७ मा मात्रै प्रजनन स्वास्थ्यका कारण ज्यान जोखिममा परेका १२ गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

आव २०७५७६ को तुलनामा २०७६र७७ मा सङ्ख्यात्मक हिसाबमा धेरै सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको उहाँको भनाइ छ । प्रजिअ सुनारले भने, विकट जिल्लामा प्रजनन स्वास्थ्यका कारण ज्यान जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको लागि यो कार्यक्रम निकै नै प्रभावकारी देखिएको छ, हेलिकप्टरबाट उद्धारपछि उपचार पाएर दुर्गमका धेरै महिलाको ज्यान जोगिएको छ ।” पर्याप्त सेवा सुविधा नभएकै कारण जिल्लाका दूरदराजका स्वास्थ्यचौकीमा समेत सुरक्षित सुत्केरी गराउनसक्ने अवस्था छैन ।

यस कार्यक्रमका विषयमा यहाँका आम जनतालाई थाहा भएको उनको भनाइ छ । प्रजिअ सुनारले भने, कतिपयले उद्धारका लागि सिधै प्रशासनमा फोन गर्छन्, भने नजिकका कतिपय सिधै आउने गर्दछन् । त्यसपछि मात्रै हामी उद्धारको प्रक्रिया अघि बडाउँछौँ ।

जिल्लामा उपचार सम्भव नभएको अवस्थामा स्वास्थ संस्थाले गरेको सिफारिस (रिफर) का आधारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरेर उद्धारका लागि पहल गर्ने गरिएको प्रशासनले जनाएको छ ।

यस कार्यक्रममार्फत उच्च रक्तश्राव भएका, दुई–तीन दिनसम्म सुत्केरी बेथाले थलिएका, स्वाथ्यकर्मीले तोकेको म्याद नाघेर पनि सुत्केरी हुन नसकेकालगायतका प्रजनन स्वास्थ्य समस्याले ज्यानै जोखिममा परेका महिलाको उद्धार गर्ने गरिएको जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले जानकारी दिए ।

उद्धार गरिएका सबै महिलालाई उपचारका लागि सुर्खेत, नेपालगञ्जलगायतका शहरमा लैजाने गरिएको उनको भनाइ छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नभएको डोल्पामा राष्ट्रपति हवाई उद्धार कार्यक्रम साँच्चीकै प्रभावकारी भएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।

यदि कुनै महिला सुरक्षित सुत्केरी हुन नसकेर उपचारका लागि व्यक्तिगतरुपमा जिल्ला बाहिर लैजानु पर्दा लाखौँ रुपैयाँ खर्च हुने गरेको बुढाको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.