प्राध्यापककाे कर्तुत आफन्तको अंक बढाउन,योग्य परीक्षार्थीको अंक घटाएकाे खुलासा

रिपोर्ट नेपाल | 2019 Jul 04 | 07:29 am 2067

काठमाडाैं, असार १९:  त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मले आयोगको भर्ना परीक्षामा फेल भएका आफन्तलाई नम्बर थपेर पास गराई जागिर दिलाउने गरेको खुलेको छ । पास भएका अन्य परीक्षार्थीको भने नम्बर घटाएर फेल गराएको पनि भेटिएको छ ।

भर्ना प्रक्रियामा अनियमितता गरेको र आफन्तलाई भर्ना गर्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिविका प्राध्यापकहरू टेकनाथ ढकाल र गोविन्द ढकाल, सहप्राध्यापकहरू राजेश्वर न्यौपाने र ताराप्रकाश पौडेल तथा पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षत्रीविरुद्ध पनि आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

३५ वटा उत्तरपुस्तिकमा नियोजित रूपमा प्राप्तांक केरमेट गरिएको भेटिएको अख्तियारले जनाएको छ । उत्तरपुस्तिकाको कोडिङदेखि नै चलखेल गरेर कर्मचारीदेखि सेवा आयोगका अध्यक्षसमेत मिलेर लिखित परीक्षामा चलखेल गरेको अख्तियारको ठहर छ ।

सेवा आयोगले २८ फागुन ०७३ मा विभिन्न १६ पदमा विज्ञापन गरेको थियो । त्यसमध्ये ६ पदको लिखित परीक्षाको नतिजा गत वैशाखमा प्रकाशित भएको थियो । उत्तरपुस्तिका परीक्षणमा अनियमितता भएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

अधिकृतमा प्रशासन प्रमुखकी छोरी 
शाखा अधिकृत पदको लिखित परीक्षामा ६ जनाको उत्तरपुस्तिकामा केरमेट भएको भेटिएको छ । उत्कृष्ट दुईजनालाई फेल गराई अन्य चारजनालाई नम्बर थपेर उत्तीर्ण गराइएको थियो । प्रशासन प्रमुख परशुराम पौडेलकी छोरी नमितालाई पास गराउन प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अंक थपेर पास गराएको अख्तियारको छानबिनमा खुलेको छ ।

लेखा अधिकृत पदका लागि २४ जना लिखित परीक्षामा सहभागी भएका थिए । जसमा सातजनाको उत्तरपुस्तिका केरमेट गरिएको थियो । ‘एकजनाको द्वितीय पत्रमा ९ अंक, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अंक र तेस्रोको द्वितीय पत्रमा ३ अंक थपेर मेरिटमा पारेको पाइयो,’ अख्तियारको विज्ञप्तिमा भनिएको छ, ‘अन्य तीनजनाको द्वितीय पत्रमा क्रमशः ७, २ र ३ अंक थपेर मेरिटमा पारेको भेटियो ।

संपरीक्षण गर्ने परीक्षकले ९ अंक घटाई मेरिटमा तल पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अंक थपी मेरिटमा पारेको गरी साजनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइयो ।’ यो कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको अख्तियारले जनाएको छ ।

१. अभियुक्त : प्रा.डा टेकनाथ ढकाल

पद : प्राध्यापक

अख्तियारको मागदाबी : चार वर्षसम्म कैद र एक लाख १० हजारसम्म जरिवाना

ढकालले अख्तियारमा दिएको बयानको सारः उत्तरपुस्तिका परीक्षण आयोगकै अफिस कोठामा गरिएको हो । उत्तरपुस्तिका परीक्षण गर्दा ‘एन्सर की’समेत दिइएको थिएन । म आफैँले केरमेट गरी सच्याएको हो, अरूबाट गरिएको होइन । मैले हस्ताक्षर पनि गरेको छु । यसका लागि सेवा आयोगका प्रशासन प्रमुख परशुराम कोइरालाले आयोगमा बोलाउनुभएको थियो । उहाँबाट प्राप्त भएको कोड नम्बरका आधारमा अंक थपघट गरेको हुँ । यो क्रममा २२ अंकसम्म थपघट गरेको छु ।

२. अभियुक्त : ताराप्रकाश पौडेल 

पद : सहप्राध्यापक

अख्तियारको मागदाबी : एक वर्ष कैद, १० हजार जरिवाना

पौडेलले अख्तियारमा दिएको बयानको सारः सहायक कानुनी सल्लाहकार पदसँग सम्बन्धित संपरीक्षक बोर्डमा विशेषज्ञको भूमिकामा उपस्थित थिएँ । परशुराम सरले आयोगको ल्यान्डलाइनबाट फोन गरी बोलाउनुभयो र काम लगाउनुभयो । नियुक्तिपत्र हात नपर्दै काम सम्पन्न गर्नु मबाट त्रुटि भएको हो । मैले संपरीक्षण गर्दा सामान्यतया सबैभन्दा कम अंक प्राप्त कपी र सबैभन्दा धेरै अंक प्राप्त कपीलाई स्याम्पलिङ मेथोडबाट तान्दछौँ । भनसुनले नभई विशेषज्ञताका आधारमा काम गरेको हुँ । गल्ती भएको रहेछ भने सजाय भोग्न तयार छु ।

३. अभियुक्त : राजेश्वर न्यौपाने  

पद : सहप्राध्यापक

अख्तियारको मागदाबी : एक वर्ष कैद, १० हजार जरिवाना

न्यौपानेले अख्तियारमा दिएको बयानको सारः लेखा अधिकृत तेस्रो र मुख्य लेखा सहायक पदको परीक्षाको कपी मैले परीक्षण गरेको हुँ । जाँच गर्ने क्रममा भित्री पृष्ठमा दिएको नम्बर अगाडिको पृष्ठमा ल्याउँदा जोड्न गल्ती भएको हुँदा केरमेट भएको हो । मैले कपी बुझाएर गइसकेपछि दोस्रो दिन मलाई आयोगबाट बोलाएर उत्तरपुस्तिकामा नम्बर थप गरिदिन पर्‍यो भनियो । उत्तरपुस्तिकामा मैले सुरु दिएको अंक सही हो, पछि दिएको अंक परशुराम कोइरालाको निर्देशनमा दिइएको हो । सजाय भोग्न तयार छु ।

४. अभियुक्त : रामबहादुर पाण्डे

पद : पूर्वसहायक प्रशासक, त्रिवि सेवा आयोग

अख्तियारको मागदाबी : एक वर्ष कैद, १० हजार जरिवाना

पाण्डेले अख्तियारमा दिएको बयानको सारः मुख्य कार्यालय सहायक दोस्रो पत्र र कार्यालय सहायक पदको प्रथम पत्रको परीक्षा परीक्षण गरेको हुँ । कुनै उत्तरपुस्तिाकामा केरमेट भएको हुन सक्छ । उत्तरपुस्तिकाहरूमा पटक–पटक केरमेट भएको हो । मैले सुरुमा दिएका अंकमा केही थपिदिन भनी सेवा आयोगका कर्मचारीको निर्देशन भएअनुसार पछि आएर थप गरिएको हो । अंक थप्नका लागि परशुराम कोइरालाले निर्देशन दिएका हुन् ।

५. अभियुक्त : बच्चुराम पाण्डे

पद : मुख्य कार्यालय सहायक

अख्तियारको मागदाबी : एक वर्ष कैद, १० हजार जरिवाना

पाण्डेले अख्तियारमा दिएको बयानको सारः शाखा अधिकृत परीक्षामा परशुराम कोइराला सरको छोरी नमिता कोइराला सहभागी भएको हुँदा उक्त पदको कोडिङ गर्ने कार्य म र इन्दिरा तिवारीले गरेका हौँ । विज्ञापनमा समस्या देखिएको हुँदा मैले सो कुरा कार्यालय प्रमुखलाई जानकारी गराएको छु । उत्तरपुस्तिकाहरूमा अंक करेमेट र थपघट भएको देखिएको थियो । मलाई पुनः कपी झिकेर दिएको कुरा थाहा छैन । मुख्य जिम्मेवार व्यक्ति परशुराम सर हो ।

६. अभियुक्त : इन्दिरा तिवारी भन्तना

पद : मुख्य कार्यालय सहायक

अख्तियारको मागदाबी : एक वर्ष कैद, १० हजार जरिवाना

भन्तनाले अख्तियारमा दिएको बयानको सारः परीक्षार्थीमध्ये समीक्षा तिवारी मेरो दाजुको छोरी (भदैनी) हुन् । उनले परीक्षाका लागि फारम भरेको भन्ने कुरा मलाई जानकारी थिएन । उक्त कुरा रिजल्ट भएपछि मात्र थाहा पाएको हुँदा आफ्नो नातेदारले परीक्षा दिँदै गरेको कुरा आयोगको आन्तरिक कार्यविधिबमोजिम आयोगमा जानकारी गराउन सकिन । उत्तरपुस्तिका परीक्षणका क्रममा भएको केरमेटबारे जानकारी भएन । आजकाे नयाँ पत्रिकामा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.