प्राधिकरण प्रमुख र नगर प्रमुखबीच खिचातानी भएपछि…

| 2018 Jun 28 | 05:42 pm 3032

मध्यपुरथिमि नपाद्वारा घरबाटो सिफारिश र नक्सा पास रोक्का

नगर विकास प्राधिकरणद्वारा सञ्चालित कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्रका घरेडीको नक्सा पास र घरबाटो सिफारिशमा मध्यपुर थिमि नगरपालिकाले रोक लगाएको छ । कमेरोटार जग्गा एकीकरण आयोजना र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका अध्यक्षसमेत रहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आज यस्तो निणर्मय सार्वजनिक गरेका हुन् ।

कमेरोटार जग्गा एकीकरण आयोजना शुरु भएको १८ वर्ष भइसकेको रत्यसभित्रको अनियमितता छानबिन गर्दै आयोजनाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने नगर परिषद्ले निर्णय गरिसकेको अवस्थामा प्राधिकरणले आत्तिएर नगर प्रमुखलाई अध्यक्षबाट हटाएर एकलौटी गर्ने गैरकानूनी निर्णयको नगरपालिका घोर भत्र्सना समेत गर्ने उनको भनाई थियो ।

नगर कार्यपालिकाको २१औँ बैठकले कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाले विकसित घडेरी बिक्रीको लागि प्रकाशित सूचनामा उल्लेख भएका जग्गा बिक्रीका लागि घरबाटो सिफारिशलगायतको कार्यमा रोक लगाउने र मोलपोत कार्यालय भक्तपुरमा समेत रोक्का राख्नका लागि पत्र पठाउने निर्णय गरेको गरेको उनले जनाए ।

नगर विकास ऐन २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भएका जग्गा एकीकरण आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्ष स्थानीय नगर प्रमुख रहने व्यवस्था भएपनि प्राधिकरणको गत जेठ २२ गतेको बैठकले नगर प्रमुख श्रेष्ठलाई हटाएर दुबै आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्षमा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्षलाई राख्ने निर्णय गरेको हो ।

प्राधिकरणले नगर प्रमुखलाई अध्यक्षबाट हटाएको भोलिपल्ट नै सार्वजनिक सूचना जारी गर्दै कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रका टुक्राहरु बिक्रीमा राखेको छ । बिक्रीमा राखेको नयाँ घरेडीको नामसारी, घरबाटो र नक्सा पासमा रोक लगाएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।

जनताको जग्गामा मनोमानी मूल्य राख्दै बिक्री गर्ने, आयोजनाका सबै काम नसकी पटक पटक म्याद थप गर्दै यहाँ भएको मनोमानी र भ्रष्टाचार रोक्न खोज्ने नगरपालिकाको प्रमुखलाई अध्यक्षबाटै हटाउने काम भएबाट आक्रोशित नगरपालिकाका पदाधिकारीहरुले आयोजना नगरपालिकालाई हस्तान्तरण नगरे कुनै काम अगाडि बढ्न नदिने बताएका छन् ।

नगरप्रमुख श्रेष्ठले दुवै आयोजना नगरपालिकाको मातहत सञ्चालन हुनुपर्ने अडान राख्दै नगर परिषद्बबाट समेत स्वीकृत गराई आयोजनाको जिम्मेवारी लिने तयारी गर्दै गर्दा प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले अहिलेकै व्यवस्था अनुसार आयोजना चलाउन जबर्जस्ती गर्दै आएको ती पदाधिकारीको भनाइ छ ।

प्राधिकरणको भक्तपुर शाखामा प्रमुखका रुपमा नवराज प्याकुरेल आएपछि मात्रै कमेरोटार जग्गा एकीकरण आयोजनामा पाँच पटक भन्दा बढी र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्र जग्गाका घडेरी दुई पटक बिक्री गरिसकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.