काठमाडाैं, असार८ः मिति २०७९ असार ०४ गतेबाट UNIFIL Mission, Lebanon को औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज मिति २०७९ असार ०८ (तद्अनुसार 22 June, 2022) गते लेवनानका महामहिम राष्ट्रपति Mr. Michel Aoun सँग शिष्टाचार भेटघाट गरेका छन् ।
उक्त भेटघाटको क्रममा, लेवनानका महामहिम राष्ट्रपति Mr. Aoun द्वारा नेपाली शान्ति सैनिकहरुको योगदान, विशेष गरी, लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकहरुले गरेको बलिदानको प्रशंसा गर्नुका साथै उनले लेवनानी स्थानीय समुदाय र नेपाली शान्ति सैनिकहरु बीचको उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनाहरुमा नेपाली शान्ति सैनिकहरुले पुर्याएको योगदानको समेत उच्च प्रशंसा गरेका थिए ।
सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपालका सम्माननीय राष्ट्रपतिको तर्फबाट लेवनानका महामहिम राष्ट्रपति तथा सम्पूर्ण लेवनानी जनतालाई पठाउनु भएको सद्भावना सन्देश जानकारी गराई लेवनानी सरकारले नेपाली शान्ति सैनिकहरुलाई गरेको समर्थन तथा सहयोगका लागि लेवनानका महामहिम राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरेका थिए ।
साथै, UNIFIL Mission, Lebanon को ५ (पाँच) दिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी शर्मा, भ्रमणदल सहित, आज नै UNDOF Mission, Syria तर्फ प्रस्थान गर्ने भएका छन् । प्रधान सेनापति महारथी शर्माले आजै उक्त मिशनका Head of Mission/Force Commander र Military Leadership Team सँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जानकारी गराईएकाे छ ।