काठमाडाैं, असोज १९ । प्रधान सेनापति प्रभुराम शर्माले आश्विन १८ गते प्रधान सेनापति ट्रफि-२०८० खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नु भएको छ । २०८० आश्विन ३० गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको छ ।
जङ्गी अड्डास्थित खेल मैदानमा आयोजित उद्घाटन समारोहमा स्वागत मन्तव्यको क्रममा श्री सैनिक तालिम महानिर्देशक, उपरथी सन्तोष कुमार ढकालले खेलकुद मार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने नेपाली सेनाका ओलम्पियनहरू संस्थागत स्मृतिको पुञ्ज रहेको बताएका थिए । उनले हरेक वर्ष सञ्चालन हुँदै आइरहेका इन्टरनेशनल ट्रि- एडभेन्चर र रन फर फन प्रतियोगिताहरू यस वर्ष पर्वको रूपमा मनाउने तयारी भइरहेको साथै अन्तर्राष्ट्रिय स्तरमानै आइकोनिकसाबित हुने लक्ष्य सहित वारियर कम्पिटिसनको अवधारणा विकास भइरहेको बताएका थिए । समारोहमा प्रधान सेनापति ट्रफिमा सहभागी पृतना तथा बाहिनीका टिमहरूले मार्चपाष्टका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सुरक्षा सम्बन्धी जिम्मेवारी समेत निर्वाह गरिरहेको नेपाली सेनाले यस वर्षको बाघ गणनामा बाघको सङ्ख्या दोब्बर भन्दा बढी भएको उत्साहपूर्ण उपलव्धिको स्मरणमा यस वर्षको प्रधान सेनापति ट्रफिमा बाघलाई मास्कटको रूपमा राखी उद्घाटन समारोहमा बाघको मास्कट समेत प्रदर्शन गरिएको थियो ।
समारोहमा सन् १९७२ मा म्युनिख ओलम्पिकमा सहभागी तथा सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको एसियन ट्र्याक एण्ड फिल्ड च्याम्पियनसिपको म्याराथन विधामा पहिलो अन्तर्राष्ट्रिय पदक (कास्य) हासिल गरी नेपाल र नेपाली सेनाको नाम विश्वसामु परिचित गराउन सफल नेपाली सेनाका ओलम्पियन जमदार जीत बहादुर के.सी. (अ.प्रा.) लाई पदक प्राप्त गरेको स्वर्ण जयन्तीका उपलक्ष्यमा प्रधान सेनापतिले कदर पत्र प्रदान गरेका थिए । यस्तै, सम्पन्न महिला ८०० मिटर दौड तथा पुरुष ४X४०० मिटर रिले दौडका विजेताहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण गरेका थिए प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरू सञ्चालन हुनेछन् ।
समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव, पूर्व प्रधान सेनापतिहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्न खेलकुद सङ्घका पदाधिकारीहरु, सैनिक श्रीमती सङ्घका अध्यक्ष तथा पदाधिकारीहरू, सैनिक सहचारीहरू, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, नेपाली सेनाका अधिकृत लगायत सञ्चारकर्मीको उपस्थिति थियो ।
नेपाली सेना भित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ वि.सं.२०६५ सालबाट प्रधान सेनापति ट्रफि सुरु भएको हो ।

