प्रधान सेनापति ट्रफि-२०७८ सम्पन्न

रिपोर्ट नेपाल | 2022 Apr 15 | 07:30 pm 1289

काठमाडैं, बैशाख २ः मिति २०७८ चैत्र १६ गतेबाट शुरु भएको प्रधान सेनापति ट्रफि-२०७८ खेलकुद प्रतियोगिताको
आज मिति २०७९ बैशाख २ गते जङ्गी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले समापन गरेका छन् ।

उक्त प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेलहरु समावेश गरिएका थिए । समापनको क्रममा प्रधान सेनापति महारथी शर्माले कमाण्डतर्फ प्रथम हुन सफल श्री मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी श्री बाबुराम श्रेष्ठ, बाहिनी अड्‍डातर्फ प्रथम हुन सफल श्री नं.२८ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी श्री हिम्मत बहादुर बिष्ट र गणतर्फ प्रथम हुन सफल श्री जगदल गणका गणपति श्री सरोजाकुमार कार्कीलाई नगद पुरस्कार तथा ट्रफि प्रदान गरेका थिए ।

सोही अवसरमा प्रधानसेनापति महारथी श्री शर्माले COAS Open Marathon Run for Fun-2078 प्रतियोगिताको ४२ कि.मि. विधाका विजेता जमदार कृष्ण बस्नेत र १० कि.मि.तर्फ प्रथम भएका सिपाही सुभाष कार्कीलाई अतिरथी स्वर्गीय निर शम्सेर ज.ब.रा. पुरस्कार प्रदान गरेका थिए भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली सेनाका खेलाडीहरु, बक्सिङ्गतर्फ अमल्दार पुनम रावल, सुटिङ्गतर्फ प्युठ कल्पना परियार र एथलेटिक्सतर्फ सिपाही सरस्वती चौधरीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार तथा सम्मान पत्र समेत प्रदान गरेका थिए ।

त्यसैगरी बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले महिलातर्फ भलिबल खेलाडी शान्ति कुमारी थारु र पुरुषतर्फ फुटबल खेलाडी बन्दोवस्ती कार्य सिपाही सुमन अर्याललाई महारथी श्री गौरव शम्सेर ज.ब.रा. अजेयबलसम्पन्न ट्रफी हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा रक्षा सचिव श्री किरणराज शर्माले आज आयोजित गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल श्री भैरवनाथ गणका खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए । त्यसै गरी उक्त खेलमा द्वितीय स्थान हासिल गर्न सफल श्री फष्ट राईफल गणका खेलाडीहरुलाई श्री युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री दामोदर रेग्मीले र तृतीय स्थान हासिल गर्न सफल श्री पुरानो गोरख गणका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री टंकलाल घिसिङ्गले प्रमाणपत्र तथा पदक प्रदान गरेका थिए ।

साथै, यसअघि बास्केटबलमा प्रथम हुने श्री नं.१६ बाहिनी अड्‍डा, भलिबलमा प्रथम हुने श्री नं.१९ बाहिनी अड्‍डा, सुटीङ्गमा प्रथम हुने श्री नं.२८ बाहिनी अड्‍डा र एथलेटिक्सतर्फ प्रथम हुने श्री नं.१६ बाहिनी अड्‍डाहरुले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गरेका थिए । उक्त समापन कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, रथीबृन्दहरु, अन्य सुरक्षा अंगका प्रमुखहरु, सैनिक श्रीमति संघका कार्यकारिणी पदाधिकारीहरु, सैनिक सहचारीहरु, विभिन्न खेलकुद संघका प्रतिनिधिहरु लगायत नेपाली सेनाका बहालवाला तथा भू.पू. सकलदर्जाको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.