प्रधान सेनापतिद्वारा Unity Journal चौथो संस्करण विमोचन

रिपोर्ट नेपाल | 2023 Feb 16 | 06:32 pm 1149

काठमाडाैं, फागुन ४ः महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६०औं बार्षिक उत्सवका अवसरमा नेपाली सेनाले चौथो पटक प्रकाशन गरेको सामरिक लेखरचनाहरुको संग्रह Unity Journal चौथो संस्करणको आज मिति २०७९ फागुन ४ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले विमोचन गरेका छन् ।

बौद्धिक वर्ग, प्राध्यापक र शोधकर्ताहरुलाई सहभागी गराई राष्ट्रिय महत्वका सामरिक विषयहरुमा आधारित रही सञ्चालन गरिएको खुल्ला सामरिक लेखरचना प्रतियोगिता-२०७९ का उत्कृष्ट २६ वटा लेखरचनाहरुलाई समावेश गरी उक्त Unity Journal प्रकाशन गरिएको हो ।

२६ जना प्रतियोगीहरुका लेख रचनाहरु समावेश गरी प्रकाशन भएको सो जर्नलमा प्रकाश विष्‍ट,
मानार्थ उपरथी पदम बहादुर सिंह (अ.प्रा.) र डा. हिन्दु संस्कृति कार्कीद्वारा लिखित लेख रचनाहरु क्रमशः प्रथम, द्वितिय र तृतिय भई प्रधान सेनापति महारथी शर्माबाट क्रमशः रु. २ लाख), रु. १ लाख ५० हजार र रु. १ लाख नगद पुरस्कार तथा कदरपत्र प्राप्त गरेका छन् । विमोचन कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले अन्य लेखकहरुलाई समेत पुरस्कार तथा कदरपत्र प्रदान गर्नु भएको थियो ।

विमोचन कार्यक्रममा बलाध्यक्ष रथी श्री सिताराम खड्का, प्राध्यापक वर्ग, रथीवृन्द, युनिटी जर्नलका विषय विज्ञ तथा सम्पादकहरु, लेखकहरु लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

यस किसिमको प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्‍न आयामहरुमा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्धि हुँदै जाने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.