प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा पदबहालीको एकवर्ष पूरा 

रिपोर्ट नेपाल | 2019 Sep 10 | 09:41 pm 1977

काठमाडौं, भदौ २४: गत वर्षबाट त्रैमासिक रुपमा सञ्चालन हुंदै आएको प्रधानसेनापति त्रैमासिक रोलकलको चौथो संस्करण सम्पन्न भएको छ ।

जंगी अड्डास्थित सभामण्डपमा आयोजित उक्त रोलकलमा विभिन्न युनिटमा तैनाथ सकलदर्जाले आफ्ना रायसुझाव तथा जिज्ञासाहरु प्रस्तुत गरेका थिए । प्रधानसेनापतिको उपस्थितीमा विभागीय प्रमुख तथा कार्यालय प्रमुखहरुले जवाफ दिएका थिए ।

उक्त कार्यक्रमको दोस्रो खण्डमा पदबहालीको एक वर्ष पूरा भएको अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जालाई सम्बोधन गरेका छन् ।

नेपाली सेनाका सबै युनिटमा लाइभ मल्टिकाष्ट गरिएको उक्त सम्बोधनका दौरान प्रधानसेनापति थापाले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गरेका थिए ।

यसैगरि, सम्बोधनका क्रममा उनले नेपाली सेनाको सांगठनिक संरचना सुधारका लागि विविध आधारहरु खडा गरिएको तथा आगामी वर्ष कार्यान्वयनका लागि निर्धारण गरिएका योजनाहरुका बारेमा चर्चा गरेका थिए ।

सम्बोधनको क्रममा प्रधानसेनापति थापाले नेपाली सेनालाई प्राप्त प्रमुख र द्धितीयक भूमिकाहरु, संगठन सुधार तथा स्तरोन्नती, कल्याणकारी योजनाहरु, शान्ति सेना सहभागिता, नागरिक–सैनिक सम्बन्ध लगायतका विषयहरुमा आफ्नो भिजन तथा कार्यादेश प्रष्ट पारेका थिए ।

राष्ट्रले सुम्पिएको गहन् जिम्मेवारी बहन गर्न पूर्ण आचारयुक्त र निष्ठाका साथ लाग्न तथा आर्थिक सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्न सबै कमाण्डर तथा सकलदर्जाका व्यक्तिहरुलाई निर्देशन पनि दिएका छन् ।

सोही क्रममा उनले आफ्नो सम्पत्ति विवरण समेत नेपाली सेनाको वेवसाइटमार्फत सार्वजनिक गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाका सकलदर्जा, आमसञ्चारमाध्यमका प्रधान सम्पादकहरु तथा पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.