काठमाडौं, जेठ २४: प्रधानसेनापति र सकलदर्जा बीच प्रत्यक्ष रुपमा अन्तरक्रिया कार्यक्रम सिपाहीका साथ प्रधानसेनापति सञ्चालन गरी सकलदर्जाका पिरमर्का, समस्या, राय सुझावहरु प्रधानसेनापति समक्ष राख्ने फोरमको रुपमा प्रत्येक ३–३ महिनामा त्रैमासिक रोलकल (सभाहल) संचालन गर्ने योजना अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा शुक्रबार जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा तेस्रो त्रैमासिक रोलकल सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले सकलदर्जाहरुको सकरात्मक सोच र प्रयासबाट संगठनका प्रक्रिया, पद्धति र प्रणालीहरुमा सुधारात्मक प्रवृति देखिनुका साथै नेपाली सेनाले शुरु गरेको परिवर्तनको संगठन भित्र र बाहिर दुवैतर्फ सकारात्मक प्रभाव पर्दै गएको कुरा बताए।
सोहि अवसरमा थापाले नेपाली सेनाको आधुनिकिकरण तथा आत्मनिर्भरता अभिबृद्धि गर्न नेपाली सेनाको दीर्घकालिन सोच नेपाली सेना भिजन २०३० तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

कार्यक्रममा उनले सकलदर्जाहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न विषयहरुमा राखेका रायसुझाव तथा जिज्ञासाहरुलाई सम्बोधन गर्नुको साथै कार्यक्रममा नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुरा हुने अवसरमा २०७६ भाद्र २४ गते वार्षिक समिक्षासहित उपस्थित हुने जानकारी समेत
गराएका थिए ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।